२०८३ साउन ९ शनिबार

मापदण्ड विपरीत सञ्चालित पेट्रोल पम्प हटाउन एक बर्ष लाग्ने

ई आर्थिक    आइतबार, माघ १२ २०७६
11.1K
Shares
मापदण्ड विपरीत सञ्चालित पेट्रोल पम्प हटाउन एक बर्ष लाग्ने

ई–आर्थिक,काठमाडौं । उपत्यकामा मापदण्ड विपरीत सञ्चालित पेट्रोल पम्प ठाउँ सारी गर्न सन्चालकहरुले कम्तिमा एक बर्ष समय लाग्ने बताएका छन् । यसका लागि नेपाल आयल निगमले समय दिनुपर्ने भन्दै उनीहरु राजनीतिक लबिङ्मा लागेका छन् ।

अहिलेको स्थानमा प्रचलित कानुन अनुसार नै दर्ता गरेर पम्प सन्चालन गरेकाले आफूहरुलाई अपराधीको जस्तो ब्यबहार गर्न नहुने उनीहरुको भनाई छ ।

‘पुरानो संरचना भत्काउन, ठाउँ खोजी गर्न र नयाँ संरचना निर्माण गर्न समय लाग्छ नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले भने ‘यसका लागि कम्तीमा एक बर्ष त लागिहाल्छ ।’ उनले निगमको ‘तुरुन्त हटाउने’ निर्णय कार्यान्वयन गर्न नसकिने बताए । यस बिषयमा सम्बन्धित निकायसँग बसेर छलफल गरेर निस्कर्षमा पुग्ने उनको भनाई छ । निगमले भने जस्तो तुरुन्त हटाउने हो भने लगानीकर्ताहरुको करोडौ रकम जोखिममा पर्छ ।

नेपाल आयल निगमले केही दिनअघि मात्र १८ ओटा पेट्रोल पम्पलाई साबिक स्थानबाट दुई साताभित्र हट्न भनेको थियो । दुर्घटनाको जोखिम बढेको भन्दै उपत्यकामा मापदण्ड विपरीत सञ्चालित ती पम्प हटाउन निगमले दुई साताको अल्टिमेटम दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको अध्ययनमा काठमाडौं र ललितपुरमा सन्चालित १८ पेट्रोल पम्प मापदण्ड विपरीत रहेको तथ्य भेटेको थियो । यसैको आधारमा मन्त्रिपरिषद् बैठकले ती पम्प हटाउने निर्णय गरेको थियो । मन्त्री परिषदको निर्णय कार्यान्वयन गराउन आयल निगमलाई भनिएको थियो । सरकारको यस्तो परिपत्र आएपछि निगमले सम्बन्धित पम्पहरुलाई अल्टिमेटमसहित पत्र बुझाएको थियो ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले साबिक स्थानबाट अन्यन्त्र सार्न निर्देशन दिएको बताए । उन्ले ब्यबसायीको हितलाई ध्यानमा राखेर पम्प सार्न चाहेको ठाउँ उल्लेख गरेर आवेदन दिन सक्ने ब्यबस्था मिलाएको पनि जानकारी दिए । प्रबक्ता गोइतले निगमले ब्यबसायीलाई पर्याप्त समय दिएको पनि बताए । उनका अनुसार मापदण्ड बिपरित सन्चालन भएका पम्प हटाउने सरकारको निर्णयलगत्तै सम्बन्धित पम्प सन्चालकलाई जानकारी दिएर हटाउन भनिएको थियो । तर सन्चालकहरुले अटेर गरेर समय गुजारेको उनको भनाई छ । अहिलेको ठाउँबाट स्थानान्तरण वा हस्तान्तरण गर्न भनेपछि ब्यबसायीहरु यतातिर नलागी साबिक ठाउँमै राख्न शक्ति केन्द्रमा लबिङ गर्दैै अटेर गरेपछि दुई साताको अल्टिमेटम दिनु परेको निगमको भनाई छ । डिजेल तथा पेट्रोल अति प्रज्ज्वलनशील पदार्थ हुन । यि पदार्थ बिक्रीका लागि निश्चित मापदण्ड तय गरिएको छ । मापदण्डभित्र नपरेका लागि कानुन अनुसार ब्यबस्थित गरिन्छ ।

अहिले ब्यबस्थित गर्न खोजिएका पम्पहरुमा कनक पेट्रोल पम्प–टेकु, कोत धुकु पेट्रोल पम्प–बालाजु, जयन्ती पेट्रोल पम्प–त्रिपुरेश्वर, मायाराम भोलाराम पेट्रोल पम्प–त्रिपुरेश्वर, श्यामा पेट्रोल पम्प, बाबा पेट्रोल पम्प, त्रिशूल पेट्रोल पम्प–कलंकी, बराल पेट्रोल पम्प, जुबी पेट्रोल पम्प–बौद्ध रहेका छन् । त्यसैगरी, कामाख्या पेट्रोल पम्प, भ्याली रिकेश पेट्रोल पम्प–कोटेश्वर, सीता पेट्रोल पम्प–महाराजगन्ज, बालकुमारी पेट्रोल पम्प, बज्रबाराही पेट्रोल पम्प, टीका भैरव डिजेल स्टोर–चापागाउँ, गायत्री पेट्रोल पम्प, एचपी इन्टरनेस्नल–जाउलाखेल रहेका छन् ।

यि पम्प सुरुमा मापदण्ड अनुसार सञ्चालन गरेको भए पनि सडक विस्तारको क्रममा सडकसँग जोडिएका थिए । पम्पले अग्नि नियन्त्रक यन्त्र राख्नुपर्ने भए पनि राखेका छैनन् । सामान्य बाल्टिन, पानी, बालुवा र गिट्टी मात्र राखेका छन् । कतिपय यि पम्पनजिकै विद्युत् ट्रान्सफर्मर छन् । पम्पमा बिजुलीको तारले जोखिममुक्त बनाएको छ । कतिपय मानव बस्तीको बीचमा पनि छन् ।

साझा पेट्रोल पम्प–जाउलाखेललाई पनि सरकारले हटाउने निर्णय गरेको छ । निर्णय कार्यान्वयन गर्न मन्त्रिपरिषद् कार्यालयले आयल निगमसँगै ट्राफिक प्रहरीलाई पनि निर्देशन दिएको छ ।

अहिले मुलुकभर करिब १४ सय पेट्रोल पम्प सञ्चालनमा छन् । करिब ४० अर्ब रुपैयाँभन्दा धेरै लगानी छ । पम्पको बिक्रीस्थल तराई र भित्री मधेसमा एक बिघा, पहाडी र हिमाली क्षेत्रमा पाँच रोपनी हुनुपर्ने व्यवस्था छ । नमुना पम्पमा न्यूनतम आठवटा सवारी साधन कम्तीमा एकपटकमा ४–४ वटा पेट्रोल र डिजेल नोजलबाट रिफ्युलिङ गर्ने व्यवस्था गर्नुपर्ने, न्यूनतम २० वटा साना–ठूला गाडी पार्क गर्न मिल्ने पाँच सय बर्गमिटरको पार्किङ एरिया राखिएको छ ।

इलेक्ट्रोनिक कार्डबाट समेत खरिद गर्न मिल्ने, न्यूनतम २० जनाले आरामपूर्वक खान मिल्ने कफी सप, रेस्टुरेन्ट, एटिएम काउन्टरको व्यवस्था गर्न सकिने, चौबिसै घन्टा सुरक्षा गार्डको प्रबन्ध मिलाउनुपर्ने, स्वचालित बिलिङ प्रणाली भएको हुनुपर्ने व्यवस्था छ । बिक्रीस्थलमा पुरुषको हकमा न्यूनतम दुई शौचालयसहित ६ युरिनरी र महिलालाई न्यूनतम चार शौचालय र एक अपांगमैत्री शौचालय, स्वस्थ्यकर पिउने पानी लगायत सर्त छन् ।

त्यसैगरी बिक्रीस्थलको कम्पाउन्डभित्र सुरक्षाका लागि ‘फायर रिटारडेन्ट’, बिक्री स्थलमा रहेका ‘अन्डरग्राउन्ड ट्यांक’, त्यसको क्षमता र संख्याको नक्सांकन र सर्वसाधारणले देख्ने गरी पेट्रोलियम पदार्थको मौज्दात विवरण राख्नुपर्ने, एकपटकमा कम्तीमा आठ सवारी साधनमा पेट्रोल भर्ने गरी चार पेट्रोल ‘नोजल’ र चार डिजल ‘नोजल’ राख्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij