ई–आर्थिक, काठमाडौं । विवादित प्रधानमन्त्री निवास बालुवाटारको ललिता निवासको सरकारी जग्गा नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले कब्जामा लिएको घोषणा गरेको छ ।
उक्त जग्गा व्यक्तिका नाममा सारिएको प्रकरणमा मुछिएका ‘जग्गा दलाल’ शोभकान्त ढकालको नागार्जुन १ नर्सरी चोकस्थित घरमा बम विस्फोट गराएरै ललिता निवास कब्जामा लिएको घोषणा गरेको हो । बुधबार साँझ ढकालको घरमा विस्फोट भएको थियो । सो विस्फोटको समेत विप्लव समूहले जिम्मा लिएको छ ।
एकीकृत क्रान्तिमार्फत भ्रष्टाचार विरोधी अभियान चलाइएको भन्दै विप्लव समूहले ललिता निवासको ११५ रोपनी जग्गा कब्जा गरेको घोषणा गरेको हो ।
समूहले सो सरकारी जग्गा भाटभटेनी सुपर मार्केटका मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल, रामकुमार सुवेदीले व्यक्तिका नाममा बनाएकाले सो सबै जग्गा बुधबारबाट आफ्नो पार्टी मातहत आउने गरी कब्जा गरेको जनाएको हो ।
बम विस्फोटमा सामान्य क्षति
यसैबीच बालुवाटार जग्गा प्रकरणका नाइके शोभाकान्त ढकालको घरमा बम विष्फोट भएको छ । बुधबार साँझ नागार्जुनको नर्सरी चोकमा रहेको उनको घरमा बम विस्फोट भएको जनाइएको छ ।
ढकाल बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका प्रमुख व्यक्ति मध्येका एक हुन् ।
विस्फोटमा घरको शिशा फुटेको महानगरीय प्रहरी वृत्त स्वयम्भुले जानकारी दिएको छ । त्यसैगरी कारमा पनि क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । विप्लव समूहले विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।