ई–आर्थिक, काठमाडौं । पूर्वसांसद हरि वैरागी दाहालको ६२ वर्षको उमेरमा आज निधन भएको छ । विसं २०५१ को मध्यावधि निर्वाचनमा सङ्खुवासभा निर्वाचन क्षेत्र नं २ बाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनवादी) को प्रतिनिधित्व गर्दै उनी सांसद निर्वाचित भएका थिए ।
राजनीतिका अलावा साना जलविद्युत् विकासको अभियानकर्मीका रुपमा स्थापित दाहाल ‘कोल्ड स्ट्रोल’ रोगबाट पीडित भएका पारिवारिक सदस्य योगेन्द्रविजय दाहालले जानकारी दिएका छन् । पूर्वसांसद दाहालको उपचारका क्रममा मनमोहन कार्डियोलोजी अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको हो ।
विसं २०१४ कात्तिक २८ गते मादी गाउँपालिका–५ सङ्खुवासभामा माता फाल्गुकुमारी र पिता यज्ञरत्न दाहालको कोखबाट उनको जन्म भएको थियो । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।
दाहालको पार्थिव शरीरलाई अहिले धुम्बाराहीस्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ । पार्टी महासचिव विष्णु पौडेलले पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पण गरेका छन् । श्रद्धाञ्जली पश्चात उनको पार्थिव शरिरलाई अपरान्ह आर्यघाटमा दाहसंस्कार गरिएको थियो ।
उनको आत्माले शान्ति पाओस् सिभिल मिडिया परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।