नेपालको भारतसँगको बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न दुवै मुलुक सहमतसमेत भएका छन् । तर, दुवै प्रधानमन्त्रीको भ्रमणपछिको संयुक्त वक्तव्यलगायत भ्रमणका क्रममा सार्वजनिक भएका दस्ताबेजहरूमा व्यापार घाटा न्यूनीकरणको ठोस उपाय भने उल्लेख छैन ।
तर, दुवै देशले उच्चस्तरीय सरकारी अधिकारीसम्मिलित टोलीले यो विषयमा ठोस धारणा बनाउने सहभि गरेको उल्लेख गरेका छन् । नेपालमा हालै सम्पन्न वाणिज्य सचिव स्तरको अन्तर सरकारी समिति (आईजीसी) मिटिङले पनि व्यापार घाटा घटाउने विषयलाई जोड दिएको छ ।
भारतसँगको व्यापार घाटा बढेको बढ्यै
कुल वैदेशिक व्यापारको ६४ प्रतिशत भन्दा बढी हिस्सा ओगेट्ने छिमेकी मुलुक भारततर्फ निर्यातको तुलनामा आयात वृद्धि उच्च हुँदा व्यापार घाटा डरलाग्दो बढीरहेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
यस आर्थिक वर्षको ९ महिनामै नेपालले भारतसँगको व्यापारमा ५ खर्ब ४१ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ घाटा बेहोरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १ खर्ब २ अर्ब ९२ करोडले बढी हो । अघिल्लो आव २०७३/७४ को ९ महिनामा नेपालले भारतसँगको व्यापारमा ४ खर्ब ३८ अर्ब ८६ करोड रुपैयाँ घाटा बेहोरेको थियो ।
भारतसँगको व्यापारघाटा वृद्धिदर उच्च
पछिल्ला वर्षमा भारततर्फको व्यापार घाटा उच्चदरमा बढीरहेको छ । अघिल्लो आर्थिक वर्षमा भारतसँगको व्यापार घाटा ३५ दशमलव ३ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७२÷७३ मा भारतले लगाएको नाकाबन्दीका कारण आयात–निर्यात प्रभावित हुँदासमेत भारतसँगको व्यापार घाटा चाहि शून्य दलशमलव ४ प्रतिशतले बढेको थियो ।
१ सय २४ मुलुकसँगको व्यापार घाटामा
नेपालले १ सय २४ ओटा मुलुकसँगको व्यापारमा घाटा बेहोरेको छ । चालु आर्थिक वर्षको ९ महिनासम्मा नेपालले १ सय ४६ ओटा मुलुकसँग व्यापार गरेको थियो । जसमध्ये २२ ओटा मुलुकसँगको व्यापार मात्रै नाफामा रहेको भन्सार विभागको तथ्यांक रहेको छ ।
आर्थिक वर्ष २०७३/७४मा नेपालले कुल १ सय ६५ मुलुकसँग व्यापार गरेको थियो । जसध्ये १ सय ३२ मुलुकसँगको व्यापार घाटामा गएको थियो । त्यसअघि आव २०७२/७३मा नेपालले कुल १ सय ८६ मुलुकसँग व्यापार (आयात/निर्यात) गरेको थियो ।

यसमध्ये १ सय ४० मुलुकसँग भएको व्यापारमा नेपालले घाटा बेहोरेको भन्सार विभागको तथ्यांक छ । विश्वका १ सय ५८ मुलुकसँग नेपालको कुटनैतिक सम्बन्ध रहेको छ ।
त्यस्तै, १ सय ४४ मुलुकसँग नेपालले द्विपक्षीय सम्बन्ध राखेको पराराष्ट्र मन्त्रालयको तथ्यांक छ । नेपालले कुटनीतिक र द्विपक्षीय सम्बन्ध नभएका मुलुकसँग पनि व्यापार गर्ने गरेको विभागको तथ्यांकमा उल्लेख छ ।
बजेटको दुई तिहाई बराबर व्यापार घाटा
नेपालले आफ्नो कुल वार्षिक बजेटको दुई तिहाई भन्दा बढी रकम बराबर व्यापार घाटा बेहोरिरहेको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षमा सरकारले १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । यस वर्ष व्यापार घाटा साढे ९ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
चालु आवको ९ महिनामै नेपालले ८ खर्ब १६ अर्ब रुपैयाँ व्यापार घाटा बेहोरि सकेको छ । सरकारले आर्थिक वर्ष २०७३÷७४को लागि १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँ बराबरको बजटे ल्याएको थियो । सोहि आवमा नेपालले कुल ९ खर्ब ११ अर्ब २६ करोड रुपैयाँ व्यापार घाटा बेहोरेको थियो ।
भारतसँग नेपालको अपेक्षा
१. व्यापार तथा पारवहन सन्धि पुनरावलोकन
प्रधानमन्त्रीको भारत भ्रमणको मुख्य एजेन्डामध्ये व्यापार घाटा न्यूनीकरणको विषय पनि एक थियो । त्यसमा नेपाल–भारत सम्बन्धबाट नेपालले कसरी लाभ लिन सक्छ भन्नेमा ३–४ वटा विषयलाई विशेष रूपमा छलफलमा ल्याइयो ।
भारततर्फ नेपालको डरलाग्दो व्यापार घाटा न्यूनीकरण गर्न के–के गर्न सकिन्छ भन्ने विषयमा गम्भीर ढंगले छलफल भयो । भारतीय प्रधानमन्त्री स्वयंले दुई देशबीचको औपचारिक वार्तामा यस विषयमा नेपाल रोडम्यापसहित आइदियोस् र त्यसलाई सम्बोधन गरौँ भनेको वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे बताउँछन् ।
दुई मुलुकबीचका प्रधानमन्त्रीको भ्रमण आदानप्रदानमा गम्भीर ढंगले नेपाल–भारत वाणिज्य सन्धि र पारवहन पुनरावलोकन गर्ने सहमति भएको छ ।
२. भारतमा अवरोधरहित बजार पहुँच
नेपाल–भारत व्यापार सम्झौताको दफा १ ले भारतले नेपालको व्यापार वृद्धिका लागि प्राविधिक सहयोग गर्ने कुरा गर्छ । दफा २ ले वस्तुको अवरोधरहित आवतजावतको कुरा गर्छ । तर, यस्तो व्यवस्था भए पनि आवत–जावतलाई रोक्न कतिपय व्यवस्थाहरू भारतले गरेको छ । यी कुरा हट्नुपर्छ भन्ने नेपाल सरकारको अडान छ ।
३. भारतको औद्योगिक मूल्यशृंखलामा नेपालको प्रवेश
निर्यात प्रवद्र्धनका सामान्य विषय, नाकामा भएको भन्सार र गैरभन्सारसँग सम्बन्धित समस्यालाई मात्रै सम्बोधन गरेर नेपालको व्यापारघाटा कम गर्न सकिने स्थिति नभएको सचिव घिमिरे बताउँछन् ।
भारतीय उद्योगको मूल्य शृंखला (भ्यालू चेन)मा नेपाली उद्योगलाई प्रवेश गराउन सकियो भने व्यापार घाटा न्यूनीकरणमा त्यसले ठूलो योगदान पुग्ने सरकारको बुझाइ छ ।
त्यसो हुँदा भारतमा रहेका ठूला उद्योगहरुका पार्टपूर्जा वा अन्य सामग्री नेपालमा उत्पादन भएर निर्यात हुनसक्छ, जसले उद्योग–उद्योग निर्यात हुन्छ । यस विषयमा भारतसँग सकारात्मक कुरा भएको सचिव घिमिरेले जानकारी दिए ।
४. भारतीय लगानी
नेपालको ठूलो व्यापार घाटा घटाउन सानो लगानीबाट उत्पादित वस्तुले सम्भव छैन । त्यसो हुँदा ठूलो मात्रामा भारतीय लगानी नेपालमा आओस् भन्ने नेपालको चाहना छ । त्यसका लागि भारतीय सरकार र निजी क्षेत्रसँग नेपाल सरकारले अनुरोध गरेको छ । भारत सरकारसँग अन्तरदेशीय विशेष आर्थिक क्षेत्र निर्माण गर्ने विषयमा पनि दुई मुलुकबीच सहमति भएको छ ।
६५% घाटा भारतसँग
यो अवधिमा नेपालले कुल ८ खर्ब १४ अर्ब ३२ करोड व्यापार घाटा व्यहोरेको छ । कुल व्यापार घाटामा करिब ६५% हिस्सा भारतले ओगटेको छ । अघिल्लो आर्थिक वर्ष ०७३/७४ मा नेपालले भारतसँगको व्यापारमा पाँच खर्ब ९२ अर्ब २२ करोड घाटा व्यहोरेको थियो । जुन नेपालको कुल व्यापार घाटाको ६४.६% हिस्सा थियो ।
मुख्य कारण : नेपालले उत्पादन नै बढाउन सकेन
नेपालले उच्च मूल्य भएका निर्यातयोग्य वस्तु उत्पादन गर्न नसकेकै कारण व्यापार घाटा बढिरहेको अर्थविद् डा. पोषराज पाण्डे बताउँछन् ।
‘अहिले हामीले उत्पादन बढाएर निर्यात दोब्बर गर्दा पनि व्यापार घाटा स्वात्तै घटाउन सम्भव छैन,’ उनले भने, ‘अहिले गार्मेन्ट, गलैँचा र पस्मिनाको निर्यात करिब २५ अर्बको हाराहारीमा होला । त्यसलाई दोब्बर बनाउँदा पनि ५० अर्ब मात्रै पुग्ने हो ।
तर, वार्षिक व्यापार घाटा त ९ खर्बभन्दा बढीको छ ।’ उच्च मूल्य भएका वस्तुको उत्पादन तथा निर्यातका अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अघि बढे मात्रै व्यापार घाटा न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।
आयात प्रतिस्थापन होइन, निर्यात प्रवर्नधमा जोड
१० अर्ब रुपैयाँभन्दा बढीको परिमाणमा आयात हुने वस्तु १३ छन् । १ अर्बभन्दा बढी परिमाणमा निकासी हुने वस्तु जम्मा ५ मात्र छन् । त्यसमा पनि सबैभन्दा ठूलो परिमाणमा निर्यात भएको कार्पेट ५ अर्ब छ । यसकारण अहिले निर्यात भइरहेका वस्तुबाट मात्र व्यापार अन्तरलाई घटाउन सक्ने अवस्था छैन ।
किन भारततर्फको निर्यात बढ्न सकेन
भारतबाट आयात उच्चदरमा बढिरहेको भए पनि नेपालको निर्यात वृद्धिदर भने निराशाजनक छ । भारततर्फको निर्यातमा अवरोध धेरै देखिएका कारण नेपालको घाटा झन्झन् बढदै गएको सरोकारवाला बताउँछन् ।
भारतले वेलावेला परीक्षणका नाममा नेपालका कृषिलगायत उत्पादनलाई निकासीमा अवरोध गर्ने गरेको छ । केही समयअघि अदुवा निकासीमा अवरोध रहेको थियो । त्यस्तै, अघिल्लो वर्ष जुटमा भारतले काउन्टरभेलिङ ड्युटी (प्रतिकारात्मक कर) लगाएको थियो ।
केही समयअघि नेपालको छाला वस्तुलाई भारतको रक्सौल नाकामा रोकिएको थियो । भारतले वनस्पति घ्यू, एक्रिलिक यार्न (धागो), कपर र जिन्क अक्साइड निर्यातमा समेत कोटा निर्धारण गरेको छ ।
भारतले ३० प्रतिशतभन्दा कम मूल्य अभिवृद्धि भएको नेपाली वस्तुमा समेत भन्सार लगाउने गरेको छ । यस्ता भन्सार तथा गैरभन्सार अवरोधले नेपालले भारतमा निर्यात गर्न नसकेको व्यवसायी बताउँछन् ।
कृषिप्रधान देशमा कोदो पनि आयात
नेपाललाई कृषिप्रधान देश भनिन्छ । तर, झन्डै वार्षिक ३ खर्ब रुपैयाँबराबरका कृषि वस्तु आयात हुन्छन् । नेपालमा नुनदेखि सुन मात्रै होइन कोदो र कोदाको पिठोसमेत आयात हुन्छ ।
भारतबाट यो वर्ष मात्र तीन करोड आठ लाख ३७ हजारको कोदो आयात भएको छ ।
त्यस्तै, स्वदेशमै उत्पादन हुन सक्ने खासीबाख्रा, माछा, चामल, गहुँ, तरकारी, फलफूल, पिठो, सूर्ती, चुरोट, काठ, कागज, धागो, पशुका भुत्ला, छाला, मञ्जन, ट्वाइलेटपेपर, सियोलगायतका सामान पनि विदेशबाट आयात हुन्छन् । यसरी नेपालमा २१ हजार ६ सयभन्दा बढी प्रकारका वस्तु आयात हुन्छ ।
चालू आवको नौ महिनामा नेपालले १४६ मुलुकसँग व्यापार गरेको छ । जसमध्ये २२ मुलुकसँगको व्यापार मात्रै नाफामा रहेको भन्सारको तथ्यांक छ ।
नयाँ पत्रिकाबाट