२५ चैत, बर्दिया । बढैयाताल–७ तिलकानामा रहेको भगवती दुग्ध उत्पादक सहकारी संस्थाको सार्वजनिक सुनुवाइ आज सम्पन्न भएको छ ।
संस्थाले सहकारीमा आधारित दुधालु पशु प्रवद्र्धन, दूध उत्पादन सङ्कलन, प्रशोधन तथा बजारीकरण उपआयोजनालगायत परियोजनाको अन्तिम सार्वजनिक सुनाइ कार्यक्रम सम्पन्न गरेको हो ।
व्यवस्थापक हरि सुवेदीले अन्तिम किस्ताको अनुदानबाट नमुना गोठ निर्माण, घाँसको बीउ वितरण, कृत्रिम गर्भाधान, दूध प्याकेजिङ मेसिन, दूध नाप्ने तथा परीक्षण गर्ने सेट, सूचना प्रवाह, कृषकलाई स्वच्छ दूध उत्पादनसम्बन्धी तालिम, कृषक अवलोकन भ्रमणलगायत कार्यक्रममा भएको रु ४९ लाख ५२ हजारको विवरण सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रममा मध्यपश्चिम पशुसेवा निर्देशनालय सुर्खेतका प्रमुख कृष्णलाल भट्ट, सुदूरपश्चिम पशुसेवा निर्देशनालय दिपायलका प्रमुख कृष्णकान्त न्यौपानेले उपभोक्ताको मन जित्न सक्ने गरी बजारीकरण गर्नुपर्नेमा जोड दिनुभएको सो संस्थाका अध्यक्ष इन्द्रप्रसाद लुइँटेलले जानकारी दिनुभयो । रासस