सुर्खेत । वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ स्थापना दिवस (रजत जयन्ती) समारोह, सदस्य सम्मान तथा ‘२५ वर्षे स्मृति सङ्गालो’ स्मारिका विमोचन कार्यक्रम भव्य एवं सफलतापूर्वक सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष श्री बमबहादुर बि.सी.को अध्यक्षतामा आयोजित कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका माननीय मन्त्री श्री विनोद कुमार शाह प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक श्री हरिहरनाथ योगी, राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक श्री कालिप्रसाद महतारा, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहकारी रजिस्ट्रार श्री खिमानन्द अर्याल, जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ, नेफ्स्कून तथा सुर्खेत जिल्लाका विभिन्न बहुउद्देश्यीय सहकारी संस्था र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सो अवसरमा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरू, सल्लाहकारहरू, कर्मचारीहरू तथा संस्थाका मेरुदण्डका रूपमा रहेका शेयर सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा संस्थाको २५ वर्षे गौरवपूर्ण यात्रा, उपलब्धि तथा गतिविधिहरू समेटिएको ‘२५ वर्षे स्मृति सङ्गालो’ नामक स्मारिकाको प्रमुख अतिथिबाट हस्ताक्षर गरी औपचारिक रूपमा विमोचन गरिएको थियो। साथै संस्थाको स्थापना कालदेखि हालसम्मका प्रमुख गतिविधि, उपलब्धि, सेवा विस्तार तथा विकास यात्रालाई समेटेर तयार गरिएको भिडियो डकुमेन्ट्रीसमेत सार्वजनिक तथा प्रदर्शन गरिएको थियो।
उक्त डकुमेन्ट्रीमार्फत संस्थाको २५ वर्षको ऐतिहासिक यात्रा, योगदान र उपलब्धिहरूलाई सहभागीमाझ प्रभावकारी रूपमा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य श्री हरिहरनाथ योगी, राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक श्री कालिप्रसाद महतारा, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहकारी रजिस्ट्रार श्री खिमानन्द अर्याल, जिल्ला सहकारी संघका अध्यक्ष श्री प्रकाश कुमार तिमिल्सिना, जनहितकारी साकोसका अध्यक्ष श्री नवराज कडेल तथा सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष श्री पूर्णप्रसाद नेपालीले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाले २५ वर्षको यात्रामा हासिल गरेका उपलब्धिको प्रशंसा गर्नुभयो।
उहाँहरूले संस्थाले आगामी दिनमा पनि सदस्यमुखी, पारदर्शी र दिगो सहकारी सेवामार्फत अझ उत्कृष्ट सफलता हासिल गर्दै अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो।

वक्ताहरूले वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था कर्णाली प्रदेशकै उत्कृष्ट सहकारी संस्थाका रूपमा स्थापित हुन सफल भएको उल्लेख गर्दै यसको असल अभ्यास, सुशासन, पारदर्शिता तथा सदस्यकेन्द्रित कार्यशैलीबाट सुर्खेतका अन्य सहकारी संस्थाहरूले समेत प्रेरणा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँहरूले पछिल्लो समय केही सहकारी संस्थामा देखिएका समस्याका कारण आमसमुदायमा सहकारीप्रतिको विश्वास कमजोर बन्दै गएको अवस्थामा वीरेन्द्रनगर साकोसले सञ्चालन गर्दै आएका प्रभावकारी वित्तीय तथा गैरवित्तीय सेवाहरूले सदस्यहरूको विश्वास पुनःस्थापित गर्न तथा सहकारी अभियानलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री श्री विनोदकुमार शाहले सुर्खेत जिल्लाको सन्दर्भमा सहकारी अभियान समग्र रूपमा सन्तोषजनक रहेको भए पनि देशका अन्य केही जिल्लामा देखिएका सहकारीसम्बन्धी समस्याका कारण आमसदस्यमा सहकारीप्रतिको विश्वास केही कमजोर बन्दै गएको धारणा व्यक्त गर्नुभयो।
उहाँले आगामी दिनमा सहकारी संस्थाहरूले सदस्यमैत्री वित्तीय तथा गैरवित्तीय गतिविधिलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्दै सदस्यहरूको हकहित संरक्षण, संस्थागत साख अभिवृद्धि तथा सहकारीप्रतिको जनविश्वास कायम राख्न विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
मन्त्री शाहले त्यसका लागि संस्थाका पदाधिकारी, सञ्चालक तथा कर्मचारीहरूले सुशासन, पारदर्शिता, उत्तरदायित्व र निष्ठापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै संस्थाका गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ स्थापना दिवस (रजत जयन्ती) को अवसरमा शुभकामना व्यक्त गर्दै वीरेन्द्रनगर सहकारी कर्णाली प्रदेशको मात्र नभई नेपालकै उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थामध्ये एकका रूपमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल भएको बताउनुभयो।
संस्थाले आफ्नो २५औँ स्थापना दिवसको अवसरमा संस्थाको उद्देश्य प्राप्ति, व्यावसायिक विकास, साख अभिवृद्धि र संस्थागत सुदृढीकरणमा योगदान पुर्याउने संस्थापक अध्यक्ष, पूर्व पदाधिकारी, पूर्व सञ्चालक, सल्लाहकार, एकीकरणमा सहभागी संस्थाका पूर्व अध्यक्ष तथा कर्मचारीहरूलाई रजत सेवा पदक तथा कर्मचारी दीर्घ सेवा पदक विधाअन्तर्गत २८ जना व्यक्तित्वलाई सम्मान गरेको थियो।
त्यसैगरी, सदस्यतर्फ विभिन्न विधामा छनोट भएका ४३० जना सदस्यलाई संस्थाको आगामी २५औँ वार्षिक साधारणसभाको अवसरमा सम्मान गरिने जानकारी कार्यक्रममा दिइएको थियो।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा संस्थाका अध्यक्ष श्री बमबहादुर बि.सी.ले संस्थाले स्थापना कालदेखि नै सदस्यमैत्री सेवा प्रवाह तथा सदस्यहरूको हकहितलाई केन्द्रमा राखी आफ्ना गतिविधिहरू सञ्चालन गर्दै आएको बताउनुभयो।
उहाँले संस्थाले सुरुदेखि नै दीर्घकालीन व्यावसायिक तथा रणनीतिक योजना निर्माण गरी सोहीअनुसार संस्थागत गतिविधिहरू सञ्चालन गर्ने अभ्यासलाई निरन्तरता दिएको उल्लेख गर्नुभयो।

अध्यक्ष बि.सी.ले आगामी दिनमा पनि सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा आधुनिक प्रविधिको उच्चतम प्रयोगमार्फत सदस्यलाई गुणस्तरीय सेवा प्रदान गर्दै सदस्यहरूको जीवनस्तर उकास्न संस्था निरन्तर प्रतिबद्ध रहने विश्वास व्यक्त गर्नुभयो।
उहाँले संस्थाको २५औँ स्थापना दिवस मनाउन सफल हुनुमा सदस्यहरूले संस्थाप्रति राख्नुभएको अटल विश्वास, भरोसा, साथ र सहयोग नै प्रमुख आधार रहेको उल्लेख गर्दै संस्थापक सदस्यहरू, पूर्व अध्यक्षहरू, एकीकरणमा सहभागी सहकारी संस्था, पदाधिकारीहरू, पूर्व सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी, सल्लाहकार तथा कर्मचारीहरूको समर्पण, मेहनत र योगदानप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।
अध्यक्ष बि.सी.ले संस्थाको २५ वर्षे यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र योगदान पुर्याउने सम्पूर्ण शेयर सदस्य, शुभेच्छुक, नियामक निकाय तथा सहकारी अभियानका अभियन्ताहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यही विश्वास, साथ र सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री छत्रबहादुर थापाले गर्नुभएको थियो। कार्यक्रमकै अवसरमा संस्थामा पुर्याउनुभएको दीर्घकालीन तथा विशिष्ट योगदानको कदरस्वरूप उहाँलाई रजत सेवा पदक प्रदान गरी सम्मान गरिएको थियो।
प्रमुख कार्यकारी अधिकृत थापाले विगत २५ वर्षदेखि संस्थामा निरन्तर सेवा गर्दै आउनुभएको छ। संस्थाले विभिन्न चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको समयमा समेत उहाँले करिब ८ वर्षसम्म बेतलबी रूपमा निस्वार्थ सेवा प्रदान गर्नुभएको थियो।
संस्थाको संरक्षण, सुदृढीकरण तथा वर्तमान अवस्थासम्मको विकास यात्रामा उहाँले पुर्याउनुभएको समर्पण, नेतृत्व र योगदानको उच्च मूल्याङ्कन गर्दै संस्थाले उहाँलाई रजत सेवा पदकबाट सम्मान गरेको हो।
