२०८३ असोज ३ शनिबार

घ्याङलेखको मुहार फेरियो: कालोपत्रे सडकसँगै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा नयाँ सम्भावना

ई आर्थिक    आइतबार, साउन १० २०८३
2.2K
Shares
घ्याङलेखको मुहार फेरियो: कालोपत्रे सडकसँगै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा नयाँ सम्भावना

काठमाडौं । वर्षौँसम्म दुर्गम क्षेत्रको परिचय बोकेको सिन्धुलीको घ्याङलेख गाउँपालिका अहिले विकासको नयाँ चरणमा प्रवेश गरेको छ। पिपलडाँडा–हायूटार–रामपुर सडक कालोपत्रे भएपछि स्थानीयको दैनिकी मात्र सहज बनेको छैन, शिक्षा, स्वास्थ्य, कृषि, व्यापार र पर्यटनका सम्भावनाले पनि नयाँ गति पाएको छ।

विगतमा दैनिक उपभोग्य सामग्री पिठ्युँमा बोकेर गाउँ पुर्‍याउनुपर्ने बाध्यता थियो। वर्षायाममा सडक अवरुद्ध हुँदा गाउँ र सदरमुकामबीचको सम्पर्क नै टुट्ने अवस्था रहन्थ्यो। अहिले भने कालोपत्रे सडकका कारण गाउँमै सहज यातायात पुगेको छ।

घ्याङलेख गाउँपालिका–२ का ७८ वर्षीय विन्द्रे स्याङ्तानका अनुसार सडकले गाउँको मुहार नै फेरिदिएको छ। युवावस्थामा सामान बोकेर दिनभर हिँड्नुपर्ने बाध्यता अहिले इतिहास बनेको भन्दै उनले सडकले गाउँको भविष्य उज्यालो बनाएको बताए।

श्री माध्यमिक विद्यालयका शिक्षक मिलन रानामगर पनि दशकअघिको अवस्था सम्झिन्छन्। २०७१ सालमा नियुक्ति भएर पहिलोपटक विद्यालय पुग्दा सडकको ट्र्याक मात्र खुलेको थियो। पहिरो र हिलो छिचोल्दै पैदल विद्यालय पुग्नुपरेको अनुभव सुनाउँदै उनी अहिले सडक स्तरोन्नतिसँगै शिक्षक, विद्यार्थी र बिरामी सबैका लागि यात्रा सहज भएको बताउँछन्।

बागमती प्रदेश सरकारले प्रदेशका २५० सडकलाई प्रादेशिक लोकमार्ग तथा प्रादेशिक मार्गका रूपमा वर्गीकरण गर्दै पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको छ। करिब ६ हजार ३ सय ५० किलोमिटर सडक सञ्जाललाई व्यवस्थित रूपमा विकास गर्ने योजनाअन्तर्गत स्थानीय तहका केन्द्रलाई राष्ट्रिय राजमार्ग र सदरमुकामसँग जोड्ने काम तीव्र पारिएको हो।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाका अनुसार प्रदेशका ११९ स्थानीय तहमध्ये अब ३० वटा स्थानीय तहका केन्द्र मात्र पक्की सडकले जोडिन बाँकी छन्। ती केन्द्रहरू जोड्न ३०५ किलोमिटर सडक र नौ वटा पुल निर्माण गर्नुपर्नेछ, जसका लागि आवश्यक बजेट विनियोजन भइसकेको उनले जानकारी दिए।

उनले सडक निर्माणसँगै स्थानीय उद्यमशीलता र जीविकोपार्जनलाई जोड्ने नीति यस वर्षदेखि कार्यान्वयनमा ल्याइएको पनि बताए। सडकले मात्र विकास सुनिश्चित नगर्ने भएकाले कृषि, व्यवसाय र उत्पादनसँग पूर्वाधारलाई जोड्न बजेट व्यवस्था गरिएको उनको भनाइ छ।

प्रदेश सरकारले सिन्धुलीको घ्याङलेख, सिन्धुपाल्चोकको पाँचपोखरी, धादिङको रुबी भ्याली र मकवानपुरको राक्सिराङ गाउँपालिकालाई विशेष प्राथमिकतामा राख्दै सडक विस्तार र आर्थिक गतिविधि प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

पूर्वाधार विकास कार्यालय सिन्धुलीका प्रमुख लक्ष्मीप्रसाद सापकोटाका अनुसार ३७ किलोमिटर लामो पिपलभञ्ज्याङ–हायुटार–रामपुर सडक निर्माण विभिन्न चरणमा अघि बढिरहेको छ। हालसम्म २९.३ किलोमिटर सडक कालोपत्रे तथा ढलान सम्पन्न भइसकेको छ भने पाँचमध्ये तीन वटा पुल सञ्चालनमा आइसकेका छन्।

सिम्लेखोलादेखि हायुटारसम्मको १०.२ किलोमिटर सडक र हायुटारदेखि सोलाभञ्ज्याङसम्मको ६.३ किलोमिटर सडक निर्धारित समयमै सम्पन्न भएको कार्यालयले जनाएको छ। यससँगै ठाडीखोला र तामाजोर खोलामा निर्माण भएका पक्की पुल सञ्चालनमा आइसकेका छन्।

यद्यपि योजनाअन्तर्गत करिब ७.७ किलोमिटर सडक स्तरोन्नति गर्न बाँकी छ। हाँडीखोला र मरिण खोलामा थप पुल निर्माणका लागि ठेक्का तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रक्रिया अघि बढाइएको छ।

घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भ्लोनले रणनीतिक महत्वका मुख्य सडकलाई पूर्णता दिनु नै अहिलेको प्राथमिकता भएको बताए। रामपुरदेखि कक्लिङसम्मको सडक कालोपत्रे गर्ने तयारीस्वरूप नापजाँचको काम अघि बढाइएको उनले जानकारी दिए।

सडक सञ्चालनमा आएपछि स्थानीय कृषि उत्पादनले सहज बजार पाउन थालेको छ। गाउँमा उत्पादन हुने तरकारी, फलफूल तथा अन्य कृषि उपज केही घण्टामै सिन्धुली, बनेपा र काठमाडौंसम्म पुग्न थालेका छन्। ढुवानी खर्च घटेपछि किसानको आम्दानी बढेको छ भने व्यावसायिक कृषि र पशुपालनप्रति आकर्षण पनि उल्लेखनीय रूपमा बढेको स्थानीयको भनाइ छ।

गाउँपालिका र हेफर इन्टरनेसनलको सहयोगमा बाख्रापालन, तरकारी खेती तथा अन्य आयआर्जनमुखी कार्यक्रम सञ्चालन भइरहेका छन्। सडक पहुँचसँगै जीविकोपार्जनमुखी कृषि व्यावसायिक उत्पादनतर्फ रूपान्तरण हुन थालेको देखिएको छ।

शिक्षा र स्वास्थ्य सेवामा पनि सडकको सकारात्मक प्रभाव परेको छ। वर्षायाममा विद्यालय पुग्न कठिनाइ भोग्ने विद्यार्थी र शिक्षक अहिले नियमित रूपमा आवतजावत गर्न थालेका छन्। बिरामीलाई आकस्मिक अवस्थामा अस्पताल पुर्‍याउन सहज भएको छ भने गाउँपालिका केन्द्रसम्म प्रशासनिक सेवा लिन आउने नागरिकले पनि ठूलो राहत महसुस गरेका छन्।

सडकसँगै घ्याङलेखमा पर्यटनको सम्भावना पनि विस्तार हुँदै गएको छ। बुरा बराजु मन्दिर, हापाचुली डाँडा तथा निर्माणाधीन बौद्ध विश्वविद्यालय क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तयारी भइरहेको छ। स्थानीयले होमस्टे र व्यावसायिक कृषि कार्यक्रमलाई पर्यटनसँग जोड्ने प्रयास थालेका छन्।

स्थानीयका अनुसार सडकले केवल गाउँलाई बजारसँग जोडेको छैन, घ्याङलेखको प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदालाई राष्ट्रिय स्तरमा चिनाउने अवसर पनि सिर्जना गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij