२०८३ साउन ८ शुक्रबार

लगातार निष्क्रिय रहेका कोशीका ७ सहकारीको दर्ता खारेज

ई आर्थिक    शुक्रबार, साउन १ २०८३
532
Shares
लगातार निष्क्रिय रहेका कोशीका ७ सहकारीको दर्ता खारेज

विराटनगर । लगातार दुई वर्षसम्म विवरण नबुझाई निष्क्रिय रहेका कोशी प्रदेशका सात वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले प्रदेश सहकारी ऐन, २०७६ को दफा ७३ को उपदफा (३) बमोजिम ती सहकारी संस्थाको दर्ता खारेज गरेको प्रदेश सहकारी रजिष्ट्रार भूपेन्द्र खनालले जानकारी दिएका छन्।

कार्यालयका अनुसार सम्बन्धित सहकारी संस्थालाई अद्यावधिक हुन आग्रह गर्दै २०८२ भदौ २ गते ३५ दिने र २०८२ पुस २ गते २१ दिने सूचना जारी गरिएको थियो। त्यसपछि पनि आवश्यक प्रक्रिया पूरा नगरेपछि ती संस्थाको स्थलगत अनुगमन गरिएको थियो।

अनुगमनका क्रममा ती सहकारी संस्था कानुनी प्रक्रिया पूरा नगरी लामो समयदेखि बन्द अवस्थामा रहेको पाइएको कार्यालयले जनाएको छ। त्यसपछि २०८३ असार ३ गते गोरखापत्रमार्फत १५ दिने अन्तिम सूचना प्रकाशित गरी दर्ता खारेज गर्नु नपर्ने आधारसहित स्पष्टीकरण पेस गर्न आग्रह गरिएको थियो।

तर, तोकिएको अवधिभित्र कुनै पनि संस्थाले स्पष्टीकरण नदिएपछि कानुनबमोजिम दर्ता खारेज गरिएको कार्यालयले जनाएको छ। दर्ता खारेज भएसँगै ती संस्थाको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले स्पष्ट पारेको छ।

दर्ता खारेज गरिएका संस्थामा मोरङका कोशेली बचत तथा ऋण सहकारी संस्थानवजागरण बहुउद्देश्यीय सहकारी संस्था रहेका छन्। त्यसैगरी सुनसरीका निलकण्ठ कृषि सहकारी संस्था, आरोग्य स्वास्थ्य सेवा (अस्पताल) सहकारी संस्था, जब्दी महिला कृषक बचत तथा ऋण सहकारी संस्था, आदर्श कृषि सहकारी संस्थातिनकुने महिला बचत तथा ऋण सहकारी संस्था पनि दर्ता खारेजीमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij