काठमाडौं । प्रधानमन्त्री शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि निजी क्षेत्रका उद्यमी–व्यवसायीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल प्लाइउड उत्पादक सङ्घ, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घ, नेपाल पश्मिना उद्योग सङ्घ र नेपाल डग च्यु उत्पादक सङ्घका प्रतिनिधिसँग भएको छलफलमा उहाँले निर्यात प्रवर्द्धनमा देखिएका कानुनी तथा प्रशासनिक अवरोध हटाउन आवश्यक पहल गरिने स्पष्ट पार्नुभयो।
छलफलका क्रममा नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष वलराम गुरुङले अमेरिकाले जुलाई ८ देखि लागू गरेको ‘कन्जुमर प्रोडक्ट सेफ्टी कमिसन’ (CPSC) प्रमाणीकरण अनिवार्य गरेपछि नेपाली गलैंचा निर्यात प्रभावित भएको जानकारी गराउनुभयो। नेपालमा आवश्यक परीक्षण सुविधा नहुँदा निर्यातमा समस्या भएको उल्लेख गर्दै उहाँले एक वर्षको ‘ग्रेस पिरियड’ उपलब्ध गराउन अमेरिकासँग कूटनीतिक पहल गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले यस विषयमा परराष्ट्र मन्त्रालयलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिनुभयो।
गुरुङले ऊन आयातमा आवश्यक ‘क्वारेन्टिन सर्टिफिकेसन’ महिनामा तीन पटक मात्र हुने व्यवस्थाले उद्योगीलाई समस्या परेको गुनासो गरेपछि प्रधानमन्त्रीले हप्तामा दुई दिन प्रमाणीकरण सेवा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। उद्योग मन्त्रालयअन्तर्गत गलैंचा विकास बोर्ड गठनको प्रस्तावमा पनि उहाँले सकारात्मक प्रतिक्रिया दिनुभयो।
नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरेले प्लाइउड उत्पादनका लागि आवश्यक कच्चा पदार्थ (भेनियर) न्यून भन्सारमा भारत निर्यात भइरहेका कारण स्वदेशी उद्योग प्रभावित भएको बताउनुभयो। त्यसमा प्रधानमन्त्री शाहले कच्चा पदार्थको निर्यात निरुत्साहित गर्न भन्सार दर पुनरावलोकन गर्ने सरकारको तयारी रहेको जानकारी दिनुभयो।
नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले वन ऐनका कारण हिमाली क्षेत्रमा भेडापालनमा समस्या भएको तथा ऊन र प्राकृतिक रेशा संकलन तथा प्रशोधन केन्द्र स्थापना गर्नुपर्ने माग राख्नुभयो। प्रधानमन्त्री शाहले सम्बन्धित कानुन परिमार्जन र आवश्यक पूर्वाधार विकासका लागि सरकारले सहजीकरण गर्ने आश्वासन दिनुभयो।
त्यसैगरी, नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेलले कानुनी जटिलताका कारण उत्पादन र निर्यातमा कठिनाइ भइरहेको बताउँदै डग च्युलाई ‘पेट फुड’ उद्योगको रूपमा वर्गीकरण गर्न र ‘स्किम्ड मिल्क पाउडर’ आयात सहज बनाउन माग गर्नुभयो। प्रधानमन्त्री शाहले उक्त विषय अध्ययन गरी उपयुक्त निर्णय गरिने बताउनुभयो।
प्रधानमन्त्री शाहले निर्यातमुखी उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।