५ जेठ, काठमाडौं । सिभिल बैंकले बोनस बाड्फाट पछी हकप्रद निष्कासन गर्ने भएको छ । बैंकको बिहीवार सम्पन्न छैटौं वार्षिक साधारणसभाले सोसम्बन्धी प्रस्ताव पारित गरेको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न भएको साधारणसभाले आव ०७२/७३ को नाफाबाट शेयरधनीहरूलाई २.८८ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.१५१६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ ।
युनिक फाइनान्स लिमिटेड र हामा मर्चेन्ट फाइनान्स लिमिटेडलाई सिभिल बैंक लिमिटेडले प्राप्ति गर्ने प्रयोजनको लागि मूल्यांकनकर्ता जेबी राजभण्डारी एन्ड डिबीन्सबाट प्राप्त दुवै लक्षित संस्थाको सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदन (डीडीए) बमोजिम पछिल्लो बजार मूल्य तथा इजाजतपत्रको वर्ग समेतका आधारमा सिभिल बैंक लिमिटेडको प्रतिसेयर मूल्य एक सय रुपैयाँबराबर युनिक फाईनान्स लिमिटेडको ९० रुपैयाँ तथा हामा मर्चेन्ट फाइनान्स लिमिटेडको ८९ रुपैयाँ कायम हुने निर्णय गरेको छ ।
सिभिल बैंक लिमिटेडको १ कित्ता सेयर बराबर युनिक फाइनान्स लिमिटेडका सेयरधनीहरूलाई सिभिल बैंक लिमिटेडको ०.९० कित्ता र हामा मर्चेन्ट फाइनान्स लिमिटेडका सेयरधनीहरूलाई सिभिल बैंक लिमिटेडको ०.८९ कित्ता सेयर प्रदान गरी दुवै लक्षित संस्थालाई यस सिभिल बैंक लिमिटेडले प्राप्ति गर्ने निणर्य साधारणसभाले गरेको छ ।
बोनस सेयर जारी तथा युनिक फाइनान्स लिमिटेड र हामा मर्चेन्ट फाइनान्स लिमिटेडलाई प्राप्ति गरेपश्चात कायम हुन आउने चुक्ता पुँजीको ३० प्रतिशत प्रस्ताव गरेकोमा सभाले सोलाई संशोधन गरी ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णगय गरेको छ ।
साथै हकप्रद सेयर निष्कासन तथा बाँडफाँड गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण काम कारबाही गर्न सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
चालू आर्थिक वर्षको चैत मसान्तसम्म ३३.८१ अर्व निक्षेप संकलन गरी ३१.२ अर्ब कर्जा प्रवाह गरेको यस बैंकले मुलुकभर ५१ शाखा तथा ९ शाखारहित बैंकिङ सेवामार्फत अत्याधुनिक सेवा दिँदै आएको छ भने ३४ स्थानहरूमा एटीएम जडान गरिसकेको छ ।
सभाले पारित गरेको बोनस सेयर प्राप्ति र हकप्रद सेयरपछि बैंकको चुक्ता पुँजी नेपाल राष्ट्र बैंकले तोकेको समयमा पूरा हुनेछ ।