काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन्।
उनले सोमबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्। चापागाईंले घरायसी तथा व्यक्तिगत कारण देखाउँदै पदबाट अलग हुने निर्णय गरेको जानकारी दिएका छन्।
चापागाईं २०८१ साल चैत १९ गते नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त भएका थिए। नियुक्त भएको छोटो समयमै उनले आकस्मिक रूपमा राजीनामा दिएपछि यसबारे विभिन्न चासो व्यक्त गरिएको छ।
हालसम्म अर्थ मन्त्रालयले उनको राजीनामाबारे औपचारिक निर्णय सार्वजनिक गरेको छैन। राजीनामा स्वीकृत हुने वा नहुने विषय मन्त्रालयको निर्णयपछि मात्र टुंगो लाग्नेछ।