‘उद्योग बचाउने भए सरोकारवाला सबैले सुनोस उनका सुझाब’
ई–आर्थिक, काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले आफ्नो पदबाट राजिनामा दिंदै स्वार्थी समूहलाई कडा चेतावनी दिएका छन् । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबार, काठमाडौंलाई सम्बोधन गर्दै मन्त्रालय पुगेर उनले महाप्रबन्धक पदबाट राजिनामा दिएका हुन् । न्यौपानले आजैकै मितिबाट लागू हुने गरी राजिनामा दिएको जानकारी दिए ।
२०७७ माघ १ गते उद्योगमा महाप्रबन्धकको रुपमा नियुक्ती पाएका उनले आफ्नो दुई बर्षे कार्यकाल पुरा भई थप एक बर्षे कार्यकालमा कार्यरत थिए । उद्योग बाणिज्य क्षेत्रमा विशेष दख्खल भएका उनले उक्त उद्योगमा बसेर २९ महिनाको अनुभव बटुले ।
राजिनामा दिएपछि महाप्रबन्धक न्यौपानेले प्रतिक्रिया दिंदै बन्द र जीर्ण अवस्थामा रहेको झाडीमय उद्योगलाई आफ्नो विवेक प्रयोग गरेर नयाँ जीवन दिने गतिमा हिडाएको बताए । उद्योगमा रहँद आफ्नो कार्यकालमा भए गरेका थुप्रै राम्रा कामको उचित मूल्यांकन राज्य, उद्योगका सञ्चालक, कर्मचारी र स्थानीयले गर्ने उनले विश्वास लिए ।
साथै सरकारले चलाएका उद्योग पनि ‘राम्रा छन्, राम्रोसँग चल्न सक्नछन् र चलाउन सकिन्छ’ भन्ने भावनाबाट अभिप्रेरित भएर काम गर्दा गर्दै उनले उद्योगमा महाप्रबन्धक भएको केही समयदेखि नै स्वार्थी समूहका थुप्रै ‘तगारो’को सामना गर्नुप¥यो । १४ बर्षदेखि हुन नसकेका साधारणसभा देखि थुप्रै त्यस्ता पेन्डिङ प्रशासनिक कामहरुमा उनले लगातार सफलता हात पारिरहे । उद्योगमा शुसासन, आर्थिक अनुशासन र पारदर्शीलाई विशेष प्राथमिकतामा राखेर काम गर्दा उनलाई ‘स्वार्थी समूह’ले उद्योगलाई गति दिने काममा अवरोध भएको तितो अनुभव छ । कर्मचारीको उचित व्यवस्थापनका साथै उद्योगको उत्पादन, गुणस्तर र विक्री योजनाको अब्बल कार्यले गर्दा ५ अर्ब ५० करोड घाटामा रहेको उद्योगले यस आ.ब.मा ४ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गर्न समेत सफल भएको थियो ।
महाप्रबन्धक न्यौपानेलाई चौतर्फी ‘घेराबन्दी’ गर्न खोजिएपनि सरकारी स्वामित्व धेरै ठूलो संभावना भएको उदयपुर सिमेन्ट उद्योग बच्नुपर्छ र बचाउनु पर्छ, उद्योगमा भएको संभावनाको लाभ नेपाल सरकारले लिनुपर्छ भन्ने अदम्य साहसका बीच उनले उद्योगको जीर्ण भएका केही मेशिनरी र सञ्चालन पूँजीका लागि ३० करोड जुटाइदिन आग्रह गरिरहेका थिए । ‘सरकारको लागि ३० करोड ठूलो रकम थिएन्, तत्काल १५ करोड मात्रै भएपनि उद्योगलाई अगाडी बढाउन सकिने अवस्था थियो ।’ महाप्रबन्धक न्यौपानेले भने– ‘चलिरहेको संभावनायुक्त उद्योगलाई सरकारले बजेट प्राथमिकता राख्दैन तर बन्द केही उद्योगहरुलाई भने बजेट छुट्याउदै लज्जास्पद र हाँस्यास्पद निर्णय गरिरहेको छ ।’
उद्योगलाई पूर्ण क्षमतामा चलाएर नाफामा लैजान उनले पूँजी जुटाउन आइपीओ अवधारणा देखि कर्जा लिने सम्मका विभिन्न स्किमका अवधारणा ल्याएका थिए । अहिले उद्योगले कर्जा लिने विषयमा समेत केही निकायमा प्रबत्तिले काम गर्दैै तगारो हालिरहेर उद्योगलाई कुनै ढंगबाट पनि अगाडी बढाउने कार्यमा सरकारले उचित पहलकदमी नगरेर उदासिनता प्रदर्शन गरेको उनले गुनासो गरे ।
उद्योगमा भइरहेको पछिल्लो गतिविधि र ‘चलखेल’को स्थानीयहरुसमेतले राम्रोसँग नियालिरहेको छ । राम्रो गतिमा हिड्न थालिसकेको उद्योगलाई बन्द गराएर उद्योगबाट अनावश्यक तवरबाट ‘लाभ’ लिन खोजे परिणाम नराम्रो हुने स्थानीयहरुले चेतावनी दिइरहेका छन् । संस्थागत सामाजिक उत्तरदायित्व शिर्षकमा स्थानीयसँग धेरै राम्रा र प्रशंसनीय काम गरिसकेका महाप्रबन्धक न्यौपानेबाट उदयपुरबासीहरु उत्साहित थिए । उद्योग बचाउने भए सरोकारवाला सबैले उनका सुझाबलाई अनुसरण गर्नुपर्ने स्थानीय अगुवा राजन कार्की बताउँछन् ।
सरकारी स्वामित्व अनि राष्ट्रिय महत्वको उद्योगमा राम्रो ‘परफर्मेन्स’ दिएका महाप्रबन्धक न्यौपानेले राजिनामा दिए लगतै स्वार्थी समूहलाई फेसबुक स्टाटस मार्फत कडा चेतावनी समेत थिए ।
फेसबुक स्टाटसमा उनले भनेका छन्– ‘सरकारले बन्द उद्योग संचालन गर्ने नीति सार्वजनिक गरिरहदा चलिरहेको उदयपुर सिमेन्टको लागि १५ करोड दिन सकेन, उत्पादन र उत्पादकत्व बृद्वी गर्ने यिनका गफ मात्रै प्रमाणित भए । उद्योग बन्द गराएर खानीतिर गिद्वे नजर नलगाउन म हार्दिक अनुरोध गर्दछु ।
आम शुभचिन्तक मित्रहरुमा चारैतिरको राजनीतिक घेराउ पछि आज देखि महाप्रबन्धकको जिम्मेवारीबाट विश्राम लिएको जानकारी गराउदछु ।
मैले भ्रस्टाचार गरिन, मैले भ्रष्टाचार गर्न दिइन, त्यसैले म टिकिन । उल्टो म माथि अनेकन् झुठा आरोपहरुका पुलिन्दा भरेर केही ब्यक्तिहरु मेरो पछि लागिरहे । मलाई आरोप लगाएर योहो टिभीमा मचिनेहरु अदालतको कठघरामा उभिन तयार हुनुहोस् जथाभावी गाली बेइज्जत गर्न पाइदैन ।
यस अवधिमा मलाई सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद दिन चाहान्छु ।’
उनले आफ्नो स्टाटसमा सरकारलाई कटाक्ष पनि गरेका छन् । कटाक्ष शैलीमा उनले सुझाब दिंदै भनेका छन्, ‘अबको महाप्रबन्धक हामी जस्तै दक्ष, इमान्दार तथा सूसासन कायम गर्नसक्ने पठाउनु हुंदैन सरकार, किनकी उदयपुर सिमेन्ट उद्योगको हावापानी भिन्न छ, मिल्न नसके मेरै हालत बनाउने छन, चयन गर्ने बेलामा रामेश्वर खनाल, नारायण प्रसाद बिडारी, कृष्णहरि बास्कोटा, चन्द्र घिमिरे जस्ता बिद्वत बर्गलाई जिम्मा नदिनु, मन्त्रीज्यूले चाहेको व्यक्ति चयन हुने छैन । बरू लामोसमयसम्म खेलोमेलोको मेसो पाएका सुनलाई पितल र पितललाई सुन बनाउन सक्ने योग्य कर्मचारीलाई निमित्त दिएर चलाउदा सहज हुने देख्छु । मेरो त सुझाव मात्रै हो, कसैलाई कतै केही मिल्न गए संयोग मात्र हुनेछ ।’
को हुन् उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपाने ?
२४ बर्ष निजी क्षेत्रको उद्योग व्यवसायको महाप्रबन्धक सम्म भएका गोपीकृष्ण न्यौपानेको औपचारिक शिक्षा एमबिए÷एलएलएम हो र उनले अहिले बैकमा क्यापिटल एड्डेक्वीसी र जोखीमको कारणले नाफामा पार्ने प्रभावको बारेमा बिद्यावारिधी गर्दैछन् । माछापुच्छ्रे बैंकमा १० बर्ष संचालक भएका न्यौपाने २०४९ सालका अडिटर र पछि कानुन व्यवसायी भएर वकालत समेत गर्दै आएका छन । इन्जिनियरिङ शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गरेका उनी पूर्वान्चल विश्वाविद्यालया, इन्जिनियरिङ संकाय, विद्यापरिषद्का सदस्य पनि हुन । नाडा अटोमोबाइल्समा लामो समय काम गरेका न्यौपाने महासचिव सम्म भए भने निजी क्षेत्रमा स्थापित हस्पिटलहरुको संस्था अफिनको महासचिव सम्म भएर काम गरे । टिटिएस, गोरखा एकीकृत कृषि फर्मका सल्लाहकार समेत रहेका न्यौपाने राष्ट्रिय व्यवसायिक पहल (एनबिआइ) का सचिव समेत भएर काम गरे । नागरिक कम्युनिटी हस्पिटल जन्माउने कुसल संस्थापक न्यौपानेले नागरिक हेल्थ ट्रष्ट फण्डका अध्यक्ष रहेर भूकम्पको बेला देखि कोभिडको प्रकोपसम्म हेल्थ सेक्टरमा उदाहरणीय काम गरेका छन् ।
लायन्स ब्लड बैंकको संस्थापक सदस्य, हनुमन्ते सरसफाइ अभियानको सल्लाहकार, मानव कल्याण समाज, भक्तपुरका सल्लाहकार संयोजक, राष्ट्रको लागि दुई घण्टा समयका सल्लाहकार लगायत दर्जनौं सामाजिक संस्थामा जोडिएका छन् ।
यिनै गोपीकृष्ण न्यौपानेलाई केपी ओली सरकारको पालामा खुल्ला प्रतिष्पर्धाको माध्यमबाट उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक पदमा नियुक्ति गरिएको थियो । शुरुदेखिनै अव्वल काम देखाउन सफल न्यौपानेले मिति २०८०/२/२२ मा माननीय मन्त्रीज्यूलाई जिर्ण भएको उद्योगको पूनर्संरचनाका लागि मागेको ५५ करोड ७५ लाख भएपनि हाललाई रु. १५ करोड यही २०८० जेष्ठ मसान्तसम्म नदिए उद्योगमा जान सकिने अवस्था नरहेको भनी अल्टिमेटम नै दिन पुगे । तर उद्योग मन्त्रीले उदयपुर सिमेन्ट उद्योगका लागि स्थिर सम्पत्तिमा समेत लगानी गर्न नसक्ने भनेर उद्योगको संचालक समितिको बैठकमै बताएपछि महाप्रबन्धक न्यौपानेले राजिनामा दिएका हुन । आफ्नो २९ महिने कार्यकालमा भएका मूख्यमूख्य ३३ वटा कामहरूको फेहरिस्त बुझाउदै भाबी कार्ययोजना र आफूलाई पछिल्लो समयमा भएका सहयोग असहयोगहरुको बारेमा समेत उक्त अल्टिमेटम पत्रमा उल्लेख गरेका छन । सुशासनको दृष्टिकोण र गत आ. ब. मा उद्योगलाई राम्रो गतिमा लैजान सफल महाप्रबन्धक न्यौपानेलाई पछिल्लो समयमा गठबन्धन सरकारले हटाउन खोजेको थियो ।
मन्त्रालयमा पुगेर उनले बुझाएको राजिनामा पत्र जस्ताको तस्तै
माननीय मन्त्रीज्यू,
उपरोक्त बिषयमा ३१ बर्ष पुराना जीर्ण मेसिनहरु मध्ये क्लिन सेल फेर्न, बर्नर फेर्न, जिसिटीको मर्मतसम्भार गर्न र क्याल्सनाइर प्रविधि जडान गरी हालको दैनिक ६ हजार बोरालाई वृद्धि गरी दैनिक १६ हजार ८ सय बोरा पुर्याउन मिति २०८०/२/२२ मा कुल बजेट मध्ये माननीय मन्त्रीज्यूबाट स्थलगत भ्रमण हुंदा प्रतिबद्धता गरिएको रु. १५ करोड मात्र भएपनि यही २०८० जेष्ठ मसान्तसम्म ऋण उपलब्ध गराउन माननीय मन्त्रीज्यू समक्ष अनुरोध गरेको व्यहोरा अवगत नै छ । सो १५ पृष्ठको अनुरोध पत्रमा मैले उद्योगमा गएर गरेका कामहरुको फेहरिस्त, उद्योगको भावी कार्ययोजना, आ. ब. २०७९/८० मा मलाई कार्य गर्न वाधा अवरोध परेका बिषयहरु र निश्कर्ष खण्डमा यदि उक्त समयभित्र न्यूनतम माग भएको रकम दिएर उत्पादन वृद्धि गर्न सहयोग नगर्ने हो भने म जस्तो प्रोफेसनल व्यक्तिलाई अल्मल्याएर नराख्न र आफू पनि मार्ग प्रशस्त गर्न तयार रहेको व्यहोरा उल्लेख गरेको थिएं । सो सम्बन्धमा माननीय मन्त्रीज्यूले उद्योगको संचालक समितिको बैठकमा रकम दिन नसकिने स्पष्ट अभिव्यक्ति दिएपछि आफू उक्त पदमा बसिरहेर यथास्थितिमा उद्योगलाई कार्ययोजना बमोजिमको स्पष्ट गति दिन नसक्ने भएकोले आजैका मितिदेखि लागू हुनेगरी यो राजिनामा स्वीकृतार्थ पेस गरेको व्यहोरा अनुरोध छ ।
मेरो २९ महिनाको कार्यकालको अवधिमा मलाई सहयोग गर्नुहुने मन्त्रालयका पदाधिकारीज्यूहरु, संचालक समितिका अध्यक्ष तथा सदस्यज्यूहरु, उद्योगका उच्च पदस्थ कर्मचारीहरु, सम्पूर्ण कर्मचारी मित्रहरु, उदयपुर जिल्लाबासीहरु, उद्योग बचाउ अभियानका अभियन्ताहरु, स्थानीय प्रशासनका प्रमुखज्यूहरु, स्थानीय निकायका पदाधिकारी तथा वडाध्यक्षहरु लगायत मेरा सबै शुभचिन्तक साथीहरु, मिडियाजगतमा काम गर्ने आम संचारकर्मी मित्रहरुमा उद्योग संचालनमा मलाई पुर्याउनु भएको उल्लेखनीय सहयोग प्रति हार्दिक धन्यवाद दिन चाहान्छु ।
अन्तमा, उद्योगको उज्ज्वल भविष्यको कामना गर्दछु ।
धन्यवाद ।
संलग्नः
१. मिति २०८०/२/२२ मा दिएको अल्टिमेटम सहितको अनुरोध पत्र ।
बोद्यार्थः
१. श्रीमान अध्यक्षज्यू, संचालक समिति, उदयपुर सिमेन्ट उद्योग लि.
२. श्री प्रशासन महाशाखा, उदयपुर सिमेन्ट उद्योग लि. जलजले, उदयपुर ।
भवदीय,
गोपीकृष्ण न्यौपाने
मध्यपुर थिमी नगरपालिका वडा नं. ३
कौशलटार भक्तपुर
मिति २०८० साल असार ४ गते ।