२०८३ असोज १ बिहिबार

विश्वकर्मा पूजा तथा वास्तु दिवस आज, औजारदेखि सवारीसाधनसम्म पूजाआराधना

ई आर्थिक    बिहिबार, असोज १ २०८३
76
Shares
विश्वकर्मा पूजा तथा वास्तु दिवस आज, औजारदेखि सवारीसाधनसम्म पूजाआराधना

काठमाडौं । नेपाली कालिगढ तथा श्रमिक समुदायले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गर्दै विश्वकर्मा पर्व तथा वास्तु दिवस मनाउँदैछन्। प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको पूजा गर्ने परम्पराअनुसार आज देशभरका विभिन्न कलकारखाना, उद्योग तथा कार्यस्थलमा विशेष कार्यक्रम गरी दिवस मनाइँदैछ।

विश्वकर्मा पूजाका अवसरमा कलकारखाना तथा कार्यस्थललाई विशेषरूपमा सजाएर श्रमिक तथा कालिगढले आफ्ना औजार, उपकरण र मेसिनरीको पूजा गर्ने गर्छन्। धार्मिक विश्वासअनुसार विश्वकर्माको पूजा गरी औजार प्रयोग गर्दा ती लामो समयसम्म टिक्ने, कामका क्रममा कम बिग्रने तथा काममा सफलता प्राप्त हुने विश्वास छ।

यस अवसरमा बालुवा तथा अन्य सामग्रीबाट निर्माण गरिएका विश्वकर्माको मूर्ति तथा प्रतिमा शुद्ध स्थल वा जलाशयमा लगेर विसर्जन गर्ने परम्परासमेत छ। काठमाडौं उपत्यकामा सुन्दरीजललगायतका स्थानमा विश्वकर्माको मूर्ति विसर्जन गर्ने गरिन्छ।

विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मान्ने धार्मिक विश्वास

धार्मिक कथनअनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरी कृष्णलाई सुरक्षित राखेको विश्वास गरिन्छ। एकै रातमा समुद्रको बीचमा भव्य संरचना निर्माण गरेको कथाका आधारमा विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मान्दै पूजा गर्ने परम्परा सुरु भएको प्रा. तोयराज नेपाल बताउँछन्।

प्राचीन भारतवर्षमा चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा मानिने धार्मिक मान्यता रहेको छ। विश्वकर्माले निर्माण गरेको भनिएको ‘भेद द्वारका’ भारतको गुजरात राज्यस्थित समुद्री क्षेत्रमा रहेको विश्वास गरिन्छ।

विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ। वास्तुशास्त्री शिव पोखरेलका अनुसार ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रसम्बन्धी ग्रन्थ विश्वकर्माले नै रचना गरेको धार्मिक विश्वास छ।

औजार र सवारीसाधनको पनि पूजा

विश्वकर्मा पूजाका दिन कालिगढ तथा श्रमिकले आफूले दैनिक प्रयोग गर्ने औजार र उपकरणको पूजा गर्छन्। पछिल्लो समय यो परम्परा इञ्जिन तथा मेसिन जडान भएका सवारीसाधनसम्म विस्तार भएको छ।

कलकारखाना, वर्कसप तथा विभिन्न प्राविधिक क्षेत्रमा कार्यरत श्रमिकले मेसिन, औजार, उपकरण तथा सवारीसाधन सफा गरी सजाउने र विश्वकर्माको तस्बिर राखेर पूजा गर्ने गरेका छन्।

विश्वकर्माको पूजाआराधना गर्दा आफूमा पनि उहाँका सीप, ज्ञान र दक्षताको गुण प्राप्त हुने धार्मिक विश्वासका कारण कालिगढ समुदायमा यस पर्वको विशेष महत्व रहँदै आएको छ।

वास्तु दिवसका रूपमा पनि मनाइँदै

वास्तुशास्त्रका पुस्तकका लेखक तथा अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले ‘वास्तु दिवस’का रूपमा समेत मनाउने गरेका छन्।

नेपालमा पछिल्लो समय वास्तुविद्याप्रति पुनः चासो बढ्दै गएको छ। चार उपवेदमध्ये एक मानिने स्थापत्यवेदमा वास्तुशास्त्रसँग सम्बन्धित विषय समेटिएको बताइन्छ।

लुप्तप्रायः अवस्थामा पुगेको स्थापत्यवेदमा आधारित सहर तथा आवास निर्माणप्रति पनि पछिल्लो समय आकर्षण बढ्न थालेको छ। परम्परागत वास्तुकला, संरचना र निर्माण पद्धतिप्रति बढ्दो चासोका कारण नेपालमा वास्तुविद्याको महत्व पुनः बढ्दै गएको अध्येताहरूको भनाइ छ।

विश्वकर्मा पूजा यसरी धार्मिक आस्थासँगै श्रम, सीप, प्रविधि, निर्माणकला र वास्तुविद्याप्रतिको सम्मान गर्ने पर्वका रूपमा पनि स्थापित हुँदै गएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij