२०८३ असोज १ बिहिबार

१ अर्ब ३४ करोडको हुण्डी कारोबार, २४ वर्षीय युवक पक्राउ

ई आर्थिक    बिहिबार, असोज १ २०८३
76
Shares
१ अर्ब ३४ करोडको हुण्डी कारोबार, २४ वर्षीय युवक पक्राउ

धनुषा । अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा धनुषाबाट एक युवक पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले शहीदनगर नगरपालिका–४ का २४ वर्षीय अजयकुमार मुखियालाई पक्राउ गरेको हो।

विभिन्न मुलुक, विशेषगरी मलेसियाबाट अवैध रूपमा हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा सीआईबीले गरेको अनुसन्धानका क्रममा मुखियासँग सम्बन्धित कारोबारमा १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको रकम कारोबार भएको खुलेको प्रहरीले जनाएको छ।

धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर संयुक्त प्रहरी टोलीले मुखियालाई भदौ ३० गते साँझ शहीदनगर नगरपालिका–४ बाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मुखियाले विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताको प्रयोग गरी उक्त रकम बराबरको अवैध हुण्डी कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका मुखियामाथि ‘हुण्डीसम्बन्धी कारोबार गर्न नहुने’ कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा खोजीका लागि समेत अनुसन्धान अघि बढाइएको छ।

सीआईबीले अवैध तथा आपराधिक गतिविधिसम्बन्धी सूचना भए प्रहरीलाई उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको छ। सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने ब्यूरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij