काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार नयाँदिल्ली प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहान ७ः३५ बजेको उडानमार्फत काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्।
भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणका साथै नेपाल–भारतबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यका विभिन्न विषयमा छलफल हुने बताइएको छ।
अर्थमन्त्री वाग्लेले भ्रमणका क्रममा भारतीय समकक्षी निर्मला सीतारमण, विदेशमन्त्री डा. एस. जयशंकरलगायत उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। साथै, भारतीय उद्योग तथा व्यापार क्षेत्रका प्रतिनिधि र प्राज्ञिक क्षेत्रसँग पनि अन्तरक्रिया गर्नेछन्।
यस्तो छ अर्थमन्त्री वाग्लेको भ्रमण तालिका
बिहीबार
-
साँझ ५ बजे भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता।
शुक्रबार
-
बिहान ९ बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागिता।
-
साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता।
-
साँझ ७ः३० बजे भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा सहभागिता।
शनिबार
-
बिहान ९ः३० बजे भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाका प्रतिनिधिसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता।
-
बिहान ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागिता।
-
साँझ ४ बजे नेपाल फिर्ता हुने कार्यक्रम।
भ्रमण टोलीमा को-को छन् ?
अर्थमन्त्री वाग्लेसँग भारत भ्रमणमा अर्थ तथा परराष्ट्र मन्त्रालयका अधिकारीसहित नेपाली राजदूतावास, नयाँदिल्लीका प्रतिनिधि सहभागी छन्।
भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नेपाली राजदूतावास नयाँदिल्लीका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत रहेका छन्।