नेपालगन्ज । ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनीबाट जलेर नष्ट भएका नेपालगन्जस्थित भूमि प्रशासन कार्यालय बाँकेका ३१ हजार १८९ जग्गाको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) को स्रेस्ता कायम गरिएको छ।
कार्यालय प्रमुख सन्तोष विकका अनुसार गत मङ्सिरदेखि २०८३ असार मसान्तसम्म उक्त संख्यामा जग्गाको स्रेस्ता कायम गरिएको हो।
२०८२ भदौ २४ गते नेपालगन्जस्थित भूमि प्रशासन कार्यालयमा भएको आगजनीबाट कार्यालय भवनसहित महत्वपूर्ण कागजात जलेर नष्ट भएका थिए। आगजनीपछि असोज र कात्तिक दुई महिना कार्यालयको सेवा बन्द भएको थियो। त्यसपछि मङ्सिर १ गतेदेखि विद्युत् रोडस्थित भाडाको भवनबाट सेवा पुनः सञ्चालन गरिएको हो।
पुराना स्रेस्ता कायम गर्न प्रक्रियागत झन्झट
कार्यालय प्रमुख विकका अनुसार विसं २०७४ पछिका अधिकांश स्रेस्ता डिजिटलाइज भइसकेकाले ती स्रेस्ता कायम गर्न खासै समस्या छैन। तर, त्यसअघिका जग्गाको रोक्का अवस्था यकिन गर्नुपर्ने भएकाले स्रेस्ता कायम गर्न थप प्रक्रियागत समय लाग्ने गरेको छ।
पुराना स्रेस्ताको रोक्का यकिन नभएमा पत्रिकामा सार्वजनिक सूचना प्रकाशन गर्नुपर्नेलगायतका प्रक्रिया पूरा गर्नुपर्ने भएकाले काममा समय लाग्ने गरेको विकले बताए।
उनका अनुसार आगजनीबाट नष्ट भएका स्रेस्ता पुनः कायम गर्ने काम निरन्तर भइरहेको छ। सेवाग्राहीको चाप बढे पनि सहज रूपमा सेवा प्रवाह गर्ने प्रयास भइरहेको कार्यालयले जनाएको छ।
सेवाग्राही सहायता कक्ष सञ्चालन
भूमि प्रशासन कार्यालयले सेवाग्राहीलाई आवश्यक सहयोग तथा प्रक्रियाबारे जानकारी दिन सेवाग्राही सहायता कक्ष समेत स्थापना गरेको छ।
कार्यालय प्रमुख विकले लेखापढी व्यवसायीमार्फत सेवा लिँदा सेवाग्राहीलाई अतिरिक्त आर्थिक भार पर्न सक्ने भएकाले सहायता कक्षबाट आवश्यक सहयोग लिन आग्रह गरेका छन्।
उनका अनुसार दैनिक रूपमा लेखापढीको काम गर्ने व्यवसायीलाई सेवा प्रक्रियाबारे जानकारी हुने भए पनि धेरै सेवाग्राही प्रक्रिया नबुझ्दा अलमलमा पर्ने गरेका छन्। यसले सेवा लिन थप समय लाग्ने गरेको उनको भनाइ छ।
अनलाइन प्रणालीमा समस्या बाहेक ढिलाइ नहुने दाबी
कार्यालयले विभागको अनलाइन प्रणालीमा प्राविधिक समस्या नआए अन्य अवस्थामा सेवाग्राहीको काममा अनावश्यक ढिलाइ हुन नदिने जनाएको छ।
आगजनीपछि नेपालगन्जको भूमि प्रशासन कार्यालय हाल विद्युत् रोडस्थित भाडाको भवनबाट सेवा सञ्चालन गर्दै आएको छ।