काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले भदौ १० गते रसुवाबाट शुरु भएको विनाशकारी बाढीबाट पीडितहरूको सहयोगका लागि तीन लाख प्रदान गरेको छ ।
उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैकस्थित खातामा भदौ १५ गते जम्मा गरिएको हो ।
शान्ति समाजले स्थापना गरेको १४ वटा स्रष्टा सम्मान पुरस्कार यस वर्ष स्थगन गरिएको छ । सोही पुरस्कारहरूको लागि प्रत्येक वर्ष छुटाइएको २ लाख ८० हजार र समाजका महासचिव प्रकाश शाहीबाट प्राप्त २० हजार गरी कुल तीन लाख रकम बाढी पीडितहरूको सहयोग स्वरूप प्रदान गरिएको हो ।
पुरस्कार स्थापनार्थ अक्षयकोषमा सहयोग गर्ने समाजसेवी बद्रीप्रसाद पहाडीको परिवार, समाजका पूर्व सभापतिहरू गोविन्द खनाल, रामकृष्ण बराल र होमकान्त चौलागाई, पूर्व वरिष्ठ उपसभापति कृष्णबहादुर रावल र पूर्व केन्द्रीय सदस्य सुदीप रिजालको सहमतिमै उक्त रकम बाढी पीडितहरूको सहयोगार्थ प्रदान गरिएको हो ।
२०७२ सालको भूकम्प पश्चात् पनि पीडितहरूको सहयोगार्थ शान्ति समाजले प्रधानमन्त्री राहत कोषमा रु दुई लाख सहयोग गरेको थियो भने २३ लाख ९० हजारको राहत सामग्री पीडितहरूलाई सोझै वितरण गरेको थियो ।