ई–आर्थिक, काठमाडौं । मुन ह्युमन रिसोर्स प्रालिका सञ्चालक प्रकाशक राईलाई प्रहरीले पक्राउ गरेको छ । नेदरल्याण्ड पठाइदिन्छु भन्दै सर्वसाधारणबाट ठूलो रकम ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । खोटाङ घर भएका राई हाल काठमाडौँको कोटेश्वरमा बस्दै आएका छन् ।
राईले रसुवाको गोसाइकुण्ड नगरपालिका घर भइ हाल काठमाडौँमा बस्दै आएकी २७ वर्षीया निमा काल्तेन तामाङसहित १६ जनाबाट एक करोड ३६ लाख ५० हजार ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान केन्द्रका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।
उनका अनुसार राईले ती १६ जनाबाट मासिक ७५ लाख कमाइ हुन्छ र जानको लागि १६ लाख लागत लाग्छ भनि प्रलोभन देखाएर रकम ठगी गरेको पीडितहरू बताउँछन् ।
आइतबार कोटेश्वरबाट पक्राउ गरिएका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशीक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरी उपरीक्षक कोइरालाले बताए ।