२०८३ साउन ९ शनिबार

मौद्रिक नीतिले बजेट कार्यन्वयनलाई सहयोग पु¥याउछ : प्रधानमन्त्री देउवा

ई आर्थिक    आइतबार, साउन ८ २०७९
6.8K
Shares
मौद्रिक नीतिले बजेट कार्यन्वयनलाई सहयोग पु¥याउछ : प्रधानमन्त्री देउवा

नेपाल उद्योग परिसंघको १९ औं वार्षिक साधारण सभा

ई–आर्थिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चालु आर्थिक वर्षको मौद्रिक नीति बजेटलाई सहयोग पुग्ने गरेर आएको बताउनुभएको छ।

आइतबार नेपाल उद्योग परिसंघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले मौद्रिक नीतिमा मुलुकमा कृषि क्षेत्र, उत्पादनमूलक, निकासीजन्य उद्योगको विकासको लागि सहयोग पुर्‍याउने लक्ष्य रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले मौद्रिक नीतिले प्रदान गरेका सहुलियतपूर्ण व्यवस्थाको उपयोग गरेर उत्पादनमूलक तथा निकासीजन्य उद्योगको विकासमा लाग्न उद्योगीलाई आग्रहसमेत गर्नुभएको छ।

उहाँले भन्नुभयो, ‘‘भर्खरै यस वर्षको बजेट कार्यान्वयनमा सहयोग पुग्ने गरेर मौद्रिक नीति सार्वजनिक भएको छ। यसबाट मुलुकमा कृषि क्षेत्र, उत्पादनमूलक र निकासीजन्य उद्योगको विकासको लागि सहयोग पुग्नेछ। मौद्रिक नीतिले प्रदान गरेका सहुलियतपूर्ण व्यवस्थाको उपयोग गरेर उद्योगको विकासमा लाग्न अनुरोध छ। देशलाई जतिसक्दो चाँडो समृद्ध मुलुकको रुपमा स्थापित गर्नुपर्ने चुनौती हाम्रा सामु छ।’’

उहाँले स्वदेशमा उत्पादित वस्तु तथा सामग्रीको उत्पादन वृद्धि र बजारीकरण गर्न जोड दिनुभएको छ। नेपालको अर्थतन्त्रमा आन्तरिक तथा बाह्य चाप परेको भन्दै प्रधानमन्त्री देउवाले यसलाई निकास दिन विदेशमा उत्पादित महँगा र विलासीपूर्ण वस्तु स्वदेशमा आयात गर्न छोड्नुपर्ने बताउनुभयो।

आइतबार नेपाल उद्योग परिसंघको १९ औं वार्षिक साधारण सभामा उपस्थित प्रधानमन्त्री शेरबहादुर देउवालगायत । 

प्रधानमन्त्री देउवाले विदेशी कच्चा पदार्थमा आधारित कम मूल्यवृद्धि हुने प्रशोधन उद्योग भन्दा मुलुककै कृषि वन तथा खानी क्षेत्रका कच्चा पदार्थमा आधारित उद्योगधन्दाको विकास गरेर स्वदेशमै आय र रोजगारी उत्पादन हुनेगरी आफ्नो आर्थिक क्रियाकलापलाई अघि बढाउन आवश्यक रहेको बताउनुभयो। उहाँले विदेशी मुद्रा आर्जन हुने आर्थिक क्रियाकलापमा निजी क्षेत्रको सहयोगको अपेक्षा गरेको बताउनुभयो।

प्रधानमन्त्री देउवाले उद्योग व्यवसायमा बिजुलीको उपयोग बढाएर पेट्रोलियम पदार्थको आयातको उपयोगलाई ध्यान दिन आग्रह गर्नुभयो। उहाँले उद्योगी, व्यवसायीले तत्कालीन लाभ लिने क्षेत्रमा मात्र नभएर दीर्घकालसम्म मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने मुलुकभित्रको कच्चा पदार्थको निकासी बढाउने र मुलुकको अर्थतन्त्रको जग बलियो बनाउने कुरामा लगानी बढाउन आग्रह गर्नुभएको हो।

मुलुकको अर्थतन्त्रलाई थप बिग्रिन नदिन सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको उहाँको भनाइ छ। प्रधानमन्त्री देउवाले निजी क्षेत्रलाई उद्यम, व्यवसाय गर्न आवश्यक नीतिगत व्यवस्था, पूर्वाधार सुविधा उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पर्नुभयो।

देशलाई जतिसक्दो चाँडो समृद्ध मुलुकको रुपमा स्थापित गर्नुपर्ने चुनौती रहेको भन्दै प्रधानमन्त्री देउवाले स्थानीय सम्भाव्यतालाई सक्दो उजागर गरेर देशभित्र उत्पादकत्व वृद्धि गर्न, रोजगारीका अवसर सिर्जना गर्न र देशलाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउन आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij