काठमाडौं । यो साता पाँच कारोबार दिननै बजार बढेर २ हजार ७८२ दशमलव ११ विन्दुमा पुगेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ५५६ दशमलव ९६ विन्दुमा रहेको बजार यो साता २२५ दशमलव १५ विन्दु माथि उक्लिएको हो ।
३ हजार २०० विन्दु पार गरिसकेको नेपालको धितोपत्र बजार पछिल्लो समय नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा भएको शेयर धितोकर्जाको सीमा रू. १२ करोडमा सीमित गरिदिँदा प्रभावित बनेको थियो ।
त्यसपछि बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा ब्याजदर बढाउँदा प्रभावित बनेको बजार पछिल्लो समय ब्याजदर १० प्रतिशतभन्दा कममा झारेसँगै सकारात्मक बन्न पुगेको हो । साथै सूचीकृत कम्पनीहरुद्वारा सार्वजनिक भइरहेको आकर्षक लाभांशका कारण पनि बजारले गति लिन लागेको प्रष्ट देखिन्छ ।
बजारले साताको पहिलो कारोबार दिनदेखि नै बढ्दो गतिको लय समातेर अघि बढेको हो । साताको पहिलो कारोबार दिन २७ दशमलव ६६ अंकले दोस्रो दिन ८७ दशमलव ६३ अंकले, तेस्रो दिन ७८ दशमलव ८२ अंकले, चौथो दिन १८ दशमलव शून्य ६ अंकले र पाँचौ दिन १२ दशमलव ९८ अंकले बजार बढेको हो ।
यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि ३७ दशमलव ६० अंकले बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४८३ दशमलव ४० विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५२१ विन्दुमा पुगेको हो ।
पाँच कारोबार दिन नै बढेको बजारबाट लगानीकर्ताको सम्पत्तिको मूल्य पनि रू. ३ खर्ब १५ अर्ब १४ करोडभन्दा बढीले बृद्धि भएको छ । गत साताको अन्तिम कारोबार दिन रू. ३५ खर्ब ७९ अर्ब ७८ करोडभन्दा बढी रहेको कुल बजारपूँजीकरण यो साता रू. ३८ खर्ब ९४ अर्ब ९२ करोडभन्दा बढी कायम भएको हो ।
गत साताभन्दा यो साता कारोबार रकम र कित्तामा पनि वृद्धि भएको छ । गत साता रू. १३ अर्ब ५६ करोड २१ लाख १६ हजार बराबरको ३ करोड ५३ लाख २० हजार ९९ कित्ता शेयर कारोबार भएकोमा यो साता रू. २५ अर्ब ४० करोड ८५ लाख ७४ हजार बराबरको ४ करोड ६५ लाख २८ हजार ८६० कित्ता शेयर काराबोर भएको हो ।
गत साताभन्दा यो साता रू. ११ अर्ब ८४ करोड ६४ लाख ५७ हजार बराबरको १ करोड १२ लाख ८ हजार ७६१ कित्ता बढी शेयर कारोबार भएको समाचार आजको आर्थिक अभियानले लेखेको छ ।