काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा उपभोग गरेबापत तिर्न बाँकी रहेको बक्यौता महसुलमा लाग्ने जरिवाना छुट दिने घोषणा गरेको छ।
कम्पनीले जारी गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८०/८१ सम्मको सेवा उपभोगबापतको बक्यौता रकम चालु आर्थिक वर्षको पुस मसान्तभित्र भुक्तानी गर्ने ग्राहकलाई सो बक्यौतामा लाग्ने जरिवाना पूर्ण रूपमा छुट दिइनेछ।
टेलिकमले निर्धारित अवधिभित्र बक्यौता रकम बुझाएर जरिवाना छुटको सुविधा लिन ग्राहकलाई आग्रह गरेको छ।
त्यसैगरी, तोकिएको समयभित्र पनि बक्यौता भुक्तानी नगर्ने ग्राहकविरुद्ध असुली प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ। त्यसका लागि बक्यौता नतिर्ने ग्राहकको नामसहितको विवरण कम्पनीको वेबसाइट तथा विभिन्न पत्रपत्रिकामार्फत सार्वजनिक गरिने सूचनामा उल्लेख गरिएको छ।