काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र पशुपति सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको जनाएको छ।
समितिका अनुसार शिव शिखर सहकारीका १४ जना र पशुपति सहकारीका २८ जना बचतकर्ताले पहिलो चरणमा आफ्नो बचत रकम फिर्ता पाएका छन्।
सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली गरी संकलन भएको रकमबाट पीडित बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य अघि बढाएको स्पष्ट पारेको छ।
समितिका अनुसार प्रारम्भिक चरणमा कम बचत रकम भएका बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गरिएको हो। आगामी दिनमा बचत रकमको आकारका आधारमा बचतकर्ताको वर्गीकरण गर्दै चरणबद्ध रूपमा रकम फिर्ता गरिने जनाएको छ।
समितिले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमका आधारमा सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्थाअनुसार बचत फिर्ता गर्ने प्रक्रिया निरन्तर सञ्चालन भइरहेको जनाएको छ।