२०८३ साउन २० बुधबार

गण्डकी प्रदेशमा ९९.३९ प्रतिशत रोपाइँ, साउन अन्तिमसम्ममा सबै ठाउँमा सकिने

ई आर्थिक    बुधबार, साउन २० २०८३
475
Shares
गण्डकी प्रदेशमा ९९.३९ प्रतिशत रोपाइँ, साउन अन्तिमसम्ममा सबै ठाउँमा सकिने

गण्डकी। गण्डकी प्रदेशमा हालसम्म ९९ दशमलव ३९ प्रतिशत रोपाइँ भइसकेको छ। प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार ९३ हजार ६०६ हेक्टरमा रोपाइँ भइसकेको छ।

छिटपुटबाहेक अधिकांश क्षेत्रमा रोपाइँ सकिएको मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ शशी अधिकारीले बताइन्। साउन अन्तिमसम्ममा सबै ठाउँमा रोपाइँ भइसक्ने उनको भनाइ छ।

प्रदेशको कुल चार लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी करिब एक लाख हेक्टरमा धानखेती हुने गरेको छ।

नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धानखेतीको क्षेत्रफल बढी छ। हिमालपारिका मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ। पछिल्लो समय प्रदेशमा रोपाइँको क्षेत्रफल भने बर्सेनि घट्दै गएको पाइएको कृषि अर्थविज्ञ अधिकारीले बताइन्।

चार वर्षअघि ९७ हजार ७६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो। त्यसपछिको वर्ष रोपाइँको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टरमा समेटियो।

गत आवमा ९४ हजार १८२ हेक्टरमा रोपाइँ भएको थियो। जग्गा खण्डीकरण, बाँझो छाड्ने प्रवृत्ति र खेतीयोग्य जमिनमा बस्ती विस्तार तथा पूर्वाधार विकासले धानखेतीको क्षेत्रफल घट्दै गएको पाइएको हो।

गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानखेती गरिँदैआएको छ।

गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानखेतीको पकेट क्षेत्र हुन्।

यस्तै, पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायत क्षेत्रलाई धानका लागि पकेट क्षेत्र तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij