ई–आर्थिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ । सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद विवादमा मुछिएका ढुंगानालाई मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।
अध्यक्ष ढुंगानाले छोरी रेविका ढुंगानाको नाममा बुक बिल्डिङ प्रक्रियामार्फत सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद गरेको सार्वजनिक भएसँगै सरकारले उनलाई निलम्बन गरी छानबिन समिति गठन गरेको थियो ।
सर्वोत्तम सिमेन्टले साधारण सेयर जारी गर्ने तयारीमा रहेको रहेकै बेला अध्यक्ष ढुंगानाले छोरीमार्फत उक्त खरिद गरेका थिए ।
छानबिन समितिले अध्यक्ष ढुंगानाले पदीय मर्यादा विपरीत सेयर कारोबारमा संलग्न भएको र उनले पुँजी बजारको विकास विपरीत हुने गरी काम गरेको भन्दै बर्खास्त गर्न सुझाव दिएपछि सरकारले स्पष्टीकरण सोधेको थियो ।
यसैबीच सर्वोत्तम सिमेन्टकै सेयर खरिद प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले भने यसअघि नै राजीनामा दिइसकेका छन् ।