ई–आर्थिक, काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रीपरिषद् विस्तारको अन्तिम तयारी गरिरहेको छ । मन्त्रीपरिषद् विस्तारका लागि शीर्ष नेताहरुले मन्त्रालयमा बाँडफाँटको तयारीलाई समेत अन्तिम रुप दिइरहेको छ । मन्त्रालय बाँडफाँटमा कुरा मिले संभवत आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ ।
मन्त्रीपरिषद्सहितको एजेण्डा सहित बालुवाटारमा गठबन्धनको बैठक बसेको छ । कांग्रेसबाट मन्त्रीका आकांक्षी दर्जनभन्दा बढी रहेको बताइन्छ । ती मध्ये डा. नारायण खड्का, डा. मीनेन्द्र रिजाल, पुष्पा भुसाल, सुजाता कोइराला, उमाकान्त चौधरीलगायतका नेताको नाम मन्त्रीको उच्च संभावना भित्र रहेको एक नेताले जानकारी दिएका छन् ।
त्यसैगरी नेकपा (एकीकृत समाजवादी)ले ७ मन्त्रालयमा आफ्नो दाबी पेश गरिरहेको छ । त्यसैगरी एकीकृत समाजवादीले उपसभामुख समेत पाउनुपर्ने अडान राखेको छ ।
एकीकृत समाजवादीबाट रामकुमारी झाँक्रीका साथै शेरबहादुर कुँवर, भवानी खापुङ, विरोध खतिवडा, किसान श्रेष्ठ, सरला यादवलगायतको नाम मन्त्री बन्नेको सूचिमा रहेको एक नेताले बताएका छन् ।
त्यस्तै माओवादी केन्द्रले मन्त्रालयको भागबण्डा कुरिरहेको छ । भागबण्डा मिलिसकेपछि के कस्ता मन्त्रालय पाइने हो त्यसपछि मन्त्रीका विषयमा निर्णय गर्ने सोचमा रहेको छ । केन्द्रको यसअघि बसेको बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिइसकेका छन् ।
त्यस्तै जनता समाजवादी पार्टीले आफूलाई पर्ने मन्त्रालय हेरेर निर्णय गर्ने सोचमा रहेको छ । एक नेताका अनुसार उपेन्द्र यादवको नेतृत्वमा मन्त्रीमण्डलमा सहभागी हुने संभावना बढी रहेको बताइन्छ । उपेन्द्र यादवको विकल्पमा राजेन्द्रप्रसाद श्रेष्ठ नेतृत्वमा जाने चर्चामा रहेको बताइन्छ ।
यसैबीच सत्ता गठबन्धनको बालुवाटार छलफलमा अमेरिकी सहायता परियोजना (एमसीसी) र सरकारलाई पूर्णता दिनेबारे छलफल केन्द्रित भएको बुझिएको छ ।