२०८३ साउन २० बुधबार

धितोपत्र बोर्डको छलफलमा विज्ञहरुको एकसे एक धारणा, कसले के भने कार्यक्रममा (सबैको धारणासहित)

ई आर्थिक    शनिबार, असार २६ २०७८
6.8K
Shares
धितोपत्र बोर्डको छलफलमा विज्ञहरुको एकसे एक धारणा, कसले के भने कार्यक्रममा (सबैको धारणासहित)

ई–आर्थिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०७८/७९ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सम्बन्धमा राय सुझाव लिने उद्देश्यले वेबिनारमार्फत् छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा बोर्डका पूर्व अध्यक्षहरू, नेप्सेका पूर्व अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, विश्वविद्यालयका प्राध्यापकहरू, धितोपत्र व्यवसायी संघका अध्यक्षहरू, विभिन्न लगानीकर्ता संघसंस्थाका प्रतिनिधिहरू, आर्थिक पत्रकारहरूका साथै अर्थतन्त्र सम्बद्ध पक्षहरूको समेत उपस्थिति रहेको थियो ।

बोर्डका का.मु. कार्यकारी निर्देशक विनय देव आचार्यले स्वागत मन्तव्य दिदै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको सो कार्यक्रममा बोर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले चालु आ.व. को बोर्डको प्रगति समिक्षा, बजार सुधार तथा विकासका रणनीतिहरू र बोर्डको भावी योजना तथा प्राथमिकताका सम्बन्धमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

बोर्डका पूर्व अध्यक्ष डा. रेवत बहादुर कार्कीले बोर्डले बजार सुधार तथा विकासका लागि गरिरहेको कार्य प्रगतिको प्रशंसा गर्दै कर्पोरेट मोडलमा नयाँ स्टक एक्सचेञ्जलाई अनुमति प्रदान गर्नुपर्ने, सूचीकृत कम्पनी बढाउन पहल गर्नुपर्ने, बजारको स्थायित्वमा जोड दिनुपर्ने, नेपाल स्टक एक्सचेञ्जले क्षमता बढाउनुपर्ने, स्टक ब्रोकरलाई डिलरसिप र कर्पोरेट एडभाइजरी कार्य गर्न दिनुपर्ने, इक्विटी डेरिभेटिभ्सको व्यवस्था, बोर्डलाई आयकर नलाग्ने व्यवस्था गर्नुपर्ने लगायतका विषयहरूमा सुझाव दिनुभयो ।

कार्यक्रममा बोर्डका पूर्व अध्यक्ष दिपकराज काफ्लेले मर्जर तथा प्राप्ति, एडभाइजरी भूमिका सम्बन्धमा व्यवस्था गर्नुपर्ने र बजारको स्थायित्वका लागि जोड दिनुपर्ने धारणा राख्नुभयो ।यस्तै प्रा.डा. राधेश्याम प्रधानले पूँजी बजारसम्बन्धी अध्ययन अनुसन्धान कार्यलाई विशेष प्राथिमकता दिनुपर्ने, अनुसन्धानमुलक लेख समेटिएको जर्नल प्रकाशनलाई निरन्तरता दिनुपर्ने, कम्प्लायन्सको पक्षलाई विशेष ध्यान दिनुपर्ने, सूचिकृत कम्पनीको वित्तीय विवरणको व्यवस्था तथा प्रवाहको व्यवस्थामा जोड दिनुपर्ने लगायतका पक्षहरूमा धारणा राख्नुभयो । यस्तै प्रा.डा. राजन बहादुर पौडेलले आधारभूत विश्लेषणका लागि तथ्याङ्कहरूको उपलब्धतामा सहजीकरण गर्नुपर्ने साथै बजारमा नयाँ लगानीकर्ताको प्रवेश भएको हुँदा प्रशिक्षणमा विशेष ध्यान दिनुपर्ने विचार राख्नुभयो ।

कार्यक्रममा डा. गोपाल भट्टले कमोडिटिज डेरिभेटिभ्स बजारको शिघ्र सञ्चालन गर्नुपर्ने, पूँजी बजारमार्फत् म्युनिसिपल बण्डको विकास तथा बजार कारोबारका लागि अध्ययन गर्नुपर्ने र हकप्रद शेयर निष्काशन तथा कारोबारका लागि छुट्टै व्यवस्था गर्नुपर्ने विषयमा आफ्नो धारणा राख्नुभयो । बोर्डका पूर्व सदस्य नर बहादुर थापाले पूँजी बजारलाई राष्ट्रिय अर्थतन्त्र एवं अन्तर्राष्ट्रिय बजारसँग आबद्ध हुने गरी विकास गर्नुपर्ने, लगानीको औजारको विविधिकरण गर्नुपर्ने, ऋणपत्र बजारको विकास गर्नुपर्ने, बजारको गहिराई बढे अनुसार दायरा बढाउनुपर्ने सुझाव दिनुभयो ।

यस्तै अर्का वक्ता डा. केशब श्रेष्ठले बोर्डले आफ्नो नियमन संरचनालाई सुदृढ बनाउनुपर्ने, बजारमा प्रवेश गरेका नयाँ लगानीकर्ताहरूलाई बजारबाट विकर्षण हुन नदिनुपर्ने र प्रि आइपिओको व्यवस्था शिघ्र गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै कार्यक्रममा मुक्ति अर्यालले लगानीकर्ताको संरक्षणका लागि छुट्टै एजेन्सीको स्थापना गर्नुपर्ने, कानुनी व्यवस्थाहरूमा स्पष्ट एवं सुदृढिकरण गर्नुपर्ने, नयाँ स्टक एक्सचेञ्जको स्थापना गर्नुपर्ने लगायतका विषयहरूमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो । यस्तै अर्का वक्ता उप प्राध्यापक केपि पाण्डेले बोर्ड स्वतन्त्र हुनुपर्ने, संस्थागत सुशासनमा जोड दिनुपर्ने विचार राख्नुभयो भने उप प्राध्यापक भरत सिंह थापाले जोखिम व्यवस्थापनका लागि उपकरणहरूको विकास गर्नुपर्ने र समावेशी पूँजी बजारको विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष सन्तोष मैनालीले बजारको पहुँच विस्तारका लागि आधिकारिक प्रतिनिधिको व्यवस्था शिघ्र गर्नुपर्ने, धितोपत्र दलाललाई सार्वजनिक कम्पनीमा रूपान्तरण गर्दा निश्चित प्रतिशत शेयर सार्वजनिक निष्काशन गर्न दिनुपर्ने तथा ऋणपत्र बजारको विकास गर्नुपर्ने बताउनुभयो ।

मर्चेन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष मेख बहादुर थापाले बजार सहभागीको क्षमता अभिवृद्धि गर्नुपर्ने, स्वस्थ प्रतिष्पर्धालाई जोड दिनुपर्ने तथा प्रशिक्षण संस्था स्थापना गर्नुपर्ने धारणा राख्नुभयो । यस्तै सिडिएससिका पूर्व कार्यकारी प्रमुख देव प्रकाश गुप्ताले अलर्ट सिस्टम सहितको सुपरिवेक्षण प्रणाली विकास गरी सोलाई प्रभावकारी बनाउनुपर्ने, संस्थागत सुशासन अभिवृद्धिमा जोड दिनुपर्ने, नेप्से सूचकांक गणना विश्वसनिय बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेप्सेका कार्यकारी प्रमुख चन्द्र सिंह साउदज्यूले इन्ट्राडे ट्रेडिगं, ओटिसी बजार प्रभावकारी बनाउने तथा एसएमइज बजारको स्थापना गर्नुपर्नेमा जोड दिदै संस्थागत ब्रोकर राख्नुपर्ने, पेमेन्ट गेटवेलाई स्थापना गर्नुपर्ने लगायतका विषयमा धारणा राख्नुभयो । यस्तै सिडिएससिका कार्यकारी प्रमुख पुण्य प्रसाद आचार्यले सरकारी ऋणपत्रको अभौतिकीकरण गर्ने अवस्था बनेको बताउँनुभयो ।

कार्यक्रममा लगानीकर्ता संघसंस्थाका प्रतिनिधि उत्तम अर्याल, छोटेलाल रौनियार र हरि ढकालले भित्री कारोबार नियन्त्रण गर्नुपर्ने, सिडिएस र टिएमएस प्रभावकारी बनाउनुपर्ने, नेप्सेको वेबसाइटमा सबै कुराहरू उपलब्ध हुनुपर्ने, धितोपत्र बजारको प्रविधि लगानीकर्तामैत्री बनाउनुपर्ने, बोर्डले नियमनको पाटोलाई प्राथमिकतामा राखी निरन्तर रूपमा बलियो तवरले बजारको नियमन गर्नुपर्ने, बजार विकास तथा विस्तारका लागि नियमनकारी निकायबिच समन्वय हुनुपर्ने र तथ्यहिन र भ्रामक समाचार प्रसारण हुने सञ्चार माध्यम तथा सामाजिक सञ्जाललाई नियन्त्रण गर्नुपर्ने जस्ता सुझावहरू दिनुभएको थियो । कार्यक्रममा सबै वक्ताहरूले हालक वर्षमा बोर्डले गरेको सुधार र बजार विकासका प्रयासहरूलाई उच्च मूल्याकंन र प्रशंषा गर्नुभएको थियो ।

कार्यक्रममा बोर्ड अध्यक्ष भिष्म राज ढुङ्गानाले नेपालको पुँजी बजारको विकासका लागि चार वर्षिय रणनीतिक योजना नै तर्जुमा गरी अगाडि बढेको जानकारी दिदै आगामी वर्षमा नै उक्त रणनीतिको करिब ४० प्रतिशत कार्य सम्पन्न हुने गरी नीति तथा कार्यक्रमको तर्जुमा गर्न लागिएको बताउनुभयो ।उहाँले पूँजी बजारको विकास तथा विस्तारका लागि सबै पक्षको साथ भएमा आगामी केही वर्षमा नै नेपालको पुँजी बजारमा ठूलो संरचनात्मक परिवर्तन र सुधार भै अन्तर्राष्ट्रिय स्तरको बन्ने विश्वास लिएको बताउनुभयो।हाल नेपाल सरकारले पनि बजारको विकास तथा विस्तारका लागि उच्च प्राथमिकता दिएको बताउँनुभयो । कार्यक्रममा अध्यक्ष ढुंगानाले बोर्डको नीति तथा कार्यक्रमका लागि प्राप्त सुझावका लागि सबैलाई धन्यवाद दिनुभयो ।

महामारीको रूपमा फैलिएको कोरोनाको असर, लकडाउन अवधिमा पनि बजारको विकास तथा विस्तारका लागि बोर्ड निरन्तर लागिहरको बताउनुभयो । कार्यक्रमको समापन गर्दै बोर्डका कार्यकारी निर्देशक निरज गिरीले कार्यक्रममा प्राप्त सुझावहरू बोर्डका लागि मार्गदर्शक भएको बताउनुभयो । कार्यक्रमको सञ्चालन बोर्डका का.मु. उप कार्यकारी निर्देशक नारायण प्रसाद शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij