ई–आर्थिक, काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको साधारण सेयर आज शुक्रबार बाँडफाँड भएको छ । आज कम्पनीको कार्यलयमा बाँडफाँड गरिएको बिक्री प्रबन्धक बिओके क्यापिटलले जानकारी दिएको छ ।
विक्री प्रबन्धकका अनुसार आवेदन दिएका कुला लगानीकर्तामध्ये ३ लाख २५ हजार १६५ जनालाई प्रतिव्यक्ति १० कित्ता परेको छ । सो बाँडफाँटपश्चात बाँकी रहेको २ कित्ता शेयर प्रतिव्यक्ति १ कित्ताका दरले दुई लगानीकर्तामा बाँडफाँट गरिएको उक्त क्यापिटलले जनाएको छ ।
हाइड्रोपावरको आइपीओमा १३ लाख २२ हजार ९७१ जना आवेदन परेको थियो भने २ करोड २६ लाख ९१ हजार ४९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो । कम्पनीले बिक्रीमा ल्याएको आइपीओको यो ६.९८ गुणा धेरै परेको थियो ।
मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण गरिएको बीओके क्यापिटलले जानकारी दिएको छ ।
ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।
त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ । त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो ।