ई–आर्थिक, वीरगन्ज : कोरोनाको हटस्पट जिल्ला मानिएको पर्सा जिल्लामा एकै दिन ११७ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा ११७ जना कोरोनाका नयाँ संक्रमित थपिएका हुन् । तीमध्ये चार जना बारा, एक जना सप्तरी र बाँकी पर्साका हुन ।
नयाँ संक्रमित मध्ये ३५ महिला र बाँकी पुरुष रहेका छन् । संक्रमित मध्ये ८९ जना पर्साको बहुदरमाई नगरपालिकाका स्थानीय बासिन्दा हुन् । उनीहरुको गत साउन ३१ मा बैरिया बिर्ता र भौराटारमा स्वाब संकलन गरिएको थियो । बहुदरमाई नगरपालिका–५ को भौराटारमा मात्र एकै ठाउँमा ६४ जनामा कोभिड–१९ को संक्रमण देखिएको हो । त्यसैगरी सोही नगरपालिकाको वडा नं २ बैरियाविर्ता पिप्रामा २०, नगरदाहामा ४ र गम्हरियामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाका जिराभवानी गाउँपालिकामा ४ र छिपहरमाईमा एक जना संक्रमित थपिएका छन् । बारास्थित चन्दन गणका चार जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै वीरगन्ज महानगरपालिकाको नगवा, घडीअर्वा, छपकैया, ताजपुर, बहुअरी, गण्डक, चन्डाल चौक, भिस्वा, रेसमकोठी, मुर्लीमा पनि संक्रमित थपिएका छन् ।
पर्साको बीरगञ्ज महानगरपालिका जिल्लाको सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्र हुने अनुमान लगाइएको छ । एक पछि अर्को गर्दै सो क्षेत्रमा संक्रमितको संख्या पनि बढिरहेको छ ।