२०८३ साउन ९ शनिबार

पर्सामा पाँच भारतीयसहित ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण, गम्भीर पाँच संक्रमित आईसीयूमा भर्ना

ई आर्थिक    शुक्रबार, साउन ९ २०७७
3.7K
Shares
पर्सामा पाँच भारतीयसहित ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण, गम्भीर पाँच संक्रमित आईसीयूमा भर्ना

वडा प्रहरी कार्यालय र श्रीपुर वीरगञ्जलाई सिल

ई–आर्थिक, वीरगञ्ज । पर्सामा पाँच जना भारतीय नागरिकसहित ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । संक्रमित पाँचजना भारतीय भारतबाट अवैधरुपमा नेपाल भित्रिरहेको अवस्थामा गत शुक्रबार पक्राउ परी थुनामा रहेका थिए ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा पाँच भारतीयसहित ३२ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको हो ।

बिहीबार राति अबेर आएको पीसीआर परीक्षणको रिपोर्ट अनुसार वडा प्रहरी कार्यालय, श्रीपुरको थुनुवाकक्षमा रहेका पाँच जना भारतीय नागरिकसहित ३२ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको कोभिड अस्पतालले जानकारी दिएको छ ।

संक्रमित मध्ये पाँच जना थुनुवा कक्षमा रहेका भारतीय नागरिक, छिपहरमाई गाउँपालिका– ३ बस्ने २३ वर्षीय पुरुष, बहुदरामाई नगरपालिका– ५, भौराटार बस्ने ३३ वर्षीय पुरुष, पकाहा मैनपुर गाउँपालिका– ३, सवैठवाका ५० र २७ वर्षीय पुरुषबाहेक अन्य २३ जना वीरगञ्ज निवासी रहेको अस्पतालले जानकारी दियो ।

त्यसैगरी नयाँ फेला परेका सङ्क्रमितहरू मध्ये नौ महिने शिशुदेखि ६० वर्षीय महिलासम्म रहेको बताइएको छ । जसमध्ये सात महिला, २५ जना पुरुष रहेका छन् ।

नयाँ फेला परेका सबै ३२ जना सङ्क्रमितलाई नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।

पाँच जना थुनुवामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि वडा प्रहरी कार्यालय, श्रीपुर वीरगञ्जलाई सिल गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

दैनिकरुपका कोरोना सङ्क्रमितको सङ्ख्या बढी रहेको र कुनै पनि ट्राभल हिस्ट्री नभएकामा पनि कोरोना पुष्टि भएकाले कोरोना समुदायमा फैलिसकेको जिल्ला स्वास्थ्य कार्यालय, पर्साका निरीक्षक जयमोद ठाकुरले दाबी गरे । कन्ट्याक्ट ट्रेसिङ, सङ्क्रमित ओसारपसार, नमुना सङ्कलनलगायत काममा पर्साका विभिन्न सरोकारवाला निकायसँग राम्रो सहकार्य हुन नसकेकाले परीक्षण र बिरामीलाई अस्पतालसम्म लैजाने कार्यमा ढिलाइ भइरहेको उनको भनाई छ ।

गण्डक अस्थायी कोभिड अस्पतालमा रहेका सङ्क्रमितमध्ये २४ जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेको र पाँच जना आइसीयूमा उपचाररत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij