ई-आर्थिक, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१७ पुगेको छ । जसमा काठमाडौं र भक्तपुरमा समेत कोरोना संक्रमण भेटिएको छ ।
मंगलबार स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३३ वर्षीया महिलाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
नेपालमा पहिलो पटक माघ १० गते कोरोना संक्रमण पुष्टि भएयता अहिले सम्मकै उच्च संख्यामा आज एकैदिन ८३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकाहरुमध्ये पर्साका १८, महोत्तरी, धनुषा र भक्तपुर २/२ तथा काठमाडौं र सर्लाहीमा एक/एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पर्साका संक्रमितहरुमा २२, २८, २८, ३२, ४५, ६० वर्षका महिलाहरु र १६ , २२, २४, २५, २५, २८, २८, ३२, ५९, ६१, ६१ वर्षका पुरुषहरु रहेका छन् । त्यसैगरी महोत्तरीका १६ र ३५ वर्षीय पुरुष, धुनषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो । साथै सर्लाही निवासी ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
हालसम्म पर्सामा ८२, उदयपुरमा ३२, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौंमा ६, कैलालीमा ४, रौतहट र बारामा ३/३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी, धनुषा र भक्तपुरमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया र कञ्चनपुरमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएका छन् ।