२०८३ साउन ९ शनिबार

निजी निबास बालकोटमा भित्र्याइएका बाँस्कोटा कमिसन काण्डमा मुछिएपछि प्रधानमन्त्री ओली नैतिक संकटमा

ई आर्थिक    बिहिबार, फाल्गुन ८ २०७६
17.1K
Shares
निजी निबास बालकोटमा भित्र्याइएका बाँस्कोटा कमिसन काण्डमा मुछिएपछि प्रधानमन्त्री ओली नैतिक संकटमा

ई–आर्थिक, काठमाडौं । गएको सोमबार काभ्रेको धुलिखेल नगरपालिकामा ३४ औं स्थापना दिवस कार्यक्रम थियो । कार्यक्रमका प्रमुख थिए, प्रधानमन्त्री केपी शर्मा ओली । काभ्रेकै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा उक्त कार्यक्रममा नहुने कुरा नै भएन । उनी बिशेष अतिथिका रुपमा मन्चमा आसिन थिए । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले ‘काभ्रे प्रतिभा जन्माउने ठाउँ हो’ भनेर घोषणा गर्दा उपस्थित जनसमुदायले बुझेनन् । केही ऐतिहासिक सन्दर्भतिर प्रधानमन्त्रीले आफ्नो सम्बोधन केन्द्रित गर्न खोजेका होलान भन्ने सर्बसाधारण र अतिथिहरुको अनुमान भयो ।

सायद प्रबक्तासमेत रहेका मन्त्रीले बाँस्कोटाले पनि यो शब्द कसप्रति लक्षित छ भनेर सुरुमा भेउ पाएका थिएनन् होला । त्यसपछि प्रधानमन्त्री अतिथि दीर्घातिर फर्केर गोकुल बाँस्कोटातिर नजर लगाए । अरुले पनि प्रधानमन्त्रीको दृष्टिलाई नियाले । लगत्तै थाहा भयो, प्रधानमन्त्री ओलीले मन्त्री बाँस्कोटाको प्रशंसा गर्न लागेका रहेछन् । प्रधानमन्त्री ओलीले भने ‘आज देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बाँस्कोटा अर्कोतिर अरू सबैजस्तो भएको छ ।’

प्रधानमन्त्री ओलीका किचेन क्याबिनेटका सदस्यमध्ये मन्त्री बाँस्कोटा एक हुन भन्ने सबैलाई जानकारी नै थियो । मन्त्री बाँस्कोटाले अनगिन्ती बिबादास्पद अभिब्यक्ति दिए पनि प्रधानमन्त्रीले उनलाई थप जिम्मेवारी थप्दै जानुमा बिश्वास पात्र हुनु नै मूल योग्यता थियो । तर यति धेरै बिश्वास होला भन्ने भन्ने चाहि सायद लोकले अनुमान गरेको थिएन । मन्त्रीपरिषदका प्रमुखले एक सदस्यको सार्बजनिक स्थलमा मुक्त कण्ठले प्रशंसा गरेको बिरलै उदारहणमध्येको यो एक थियो । यस्तो प्रशंसा गर्न लायक मुलुक र जनताका लागि बाँस्कोटाले गरेको आजसम्म कुनै एउटा काम देखिएको थिएन । उनको आफ्नो जिम्मेवारीको कार्य सम्पादन औसतभन्दा माथि छँदै थिएन । बरु उनका प्रत्येक शब्द बिबादास्पद थिए । उनकै तल्लो स्तरको टिप्पणीका कारण ओली सरकारको आलोचनाको ग्राफ बढ्दै गएको थियो ।

सन्चारमन्त्री प्रबक्ता भएका कारण उनको बिबादास्पद बोली सरकारको संस्थागत धारणा हुने हुनाले प्रधानमन्त्रीले नियन्त्रण गर्नु पर्ने दबाब बढ्दै गएको थियो । तर प्रधानमन्त्रीले नियन्त्रण गर्नुको साटो मुक्त कण्डले प्रशंसा गरेपछि दुनियाँ चकित परेका थिए । यसमा प्रधानमन्त्री ओली र सन्चारमन्त्री बाँस्कोटाबिच ‘अतिरिक्त सम्बन्ध’ पनि केही छ कि ! भन्ने संशय प्रकट हुन थालेको थियो । यही बेला मन्त्री बाँस्कोटाले कुनै कामको सन्दर्भमा कमिसनको बार्गेनिङ् गरेको अडियो सार्बजनिक भएको छ । यसले प्रधानमन्त्री ओलीमा नैतिक संकट उत्पन्न भएको छ ।

कमिशन बार्गेनिङ्को अडियो बाहिरिएपछि नैतिकताको आधारमा राजीनामा दिएका बाँस्कोटा प्रधानमन्त्री ओलीका अति बिश्वास पात्र रहेको कुरा उनको ब्यबस्थापनमा प्रधानमन्त्रीको चासोले पनि प्रमाणित गरेको थियो । मन्त्री नियुक्ति भएपछि मन्त्री क्वार्टरका लागि मन्त्रीहरुको दौडधुप चलिरहेको अबस्थामा बाँस्कोटा निसन्देह थिए । पछि थाह भयो, क्वार्टरको अभाबजस्तो देखाएर प्रधानमन्त्री ओलीले उनलाई आफ्नो निजी बंगला बालकोटमा भित्र्याए ।

सन्चारमन्त्री बाँस्कोटालाई निजी घर बालकोटमा राख्नुको कारणबारे बिभिन्न चर्चा परिचर्चा पनि चले । यसमा प्रधानमन्त्रीले एउटा बलियो कुटनीतिक सन्देश भने प्रबाह गरेको सबै सहमत छन । त्यो के भने बाँस्कोटा मेरो अति निकट ब्यक्ति हो भन्ने । यसको प्रभाब देखा पनि प¥यो । प्रधानमन्त्री ओलीसँग राख्नु पर्ने कुरा सबै क्षेत्रका ब्यक्तिले बाँस्कोटासमक्ष राख्न थाले । प्रधानमन्त्री ओलीको निबासपछि सबैभन्दा भीडभाड हुने निबास बाँस्कोटाको नै बन्यो । उनीसमक्ष राखेको कुरा प्रधानमन्त्रीसमक्ष राखेको सोसरह नै भएको हुन थाल्यो । बाँस्कोटाको शक्ति पनि अकल्पनीय ढंगले बढेको थियो । यतिसम्म कि बाहिर कुनै जिल्ला निस्कदा स्वागतका लागि प्रहरी, आर्मी, निजामति कर्मचारीको लर्को नै लाग्थ्यो । सरुवा बढुवादेखि हरेक काम लिन बाँस्कोटालाई खुसी बनाउन चाहनेहरुको घेरा जहिले पनि बाक्लो बन्दै थियो । यही बेला उनी भ्रष्टाचारजस्तो जघन्य काण्डमा मुछिन पुगे ।

यो काण्डले बाँस्कोटाको राजनीति र सामाजिक प्रतिष्ठा मात्र धुलिसात बनेन, सिंगो नेकपाको सरकार र पार्टीमा अपरणीय क्षति पनि भएको छ । जनतामा यो सरकार र नेकपाप्रतिको बिश्वास र भरोसामा दाग लागेको छ । प्रतिपक्षले सरकार र नेकपाबिरोधी गतिलो अस्त्र पाएको छ । प्रधानमन्त्रीको भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीतिको बिश्वासनियतामा गम्भीर आँच आएको छ । प्रतिपक्षले यही बिषयलाई लिएर बिहीबारको सदन अबरुद्ध पारेको छ । यसको सन्देश देशब्यापी गएको छ । यसले बास्तबमा प्रधानमन्त्री पनि नराम्रोसँग नैतिक संकटमा परेका छन् । यसमा दुई कारण छन् ।

पहिलो आफ्नो अति बिश्वास पात्र र अर्को मन्त्री परिषदका सदस्य भएको नाताले प्रधानमन्त्रीमा यस्तो संकट देखा परेको हो । मन्त्री परिषदको सदस्य भ्रष्टाचार काण्डमा मुछिदा प्रधानमन्त्री पनि बिबादित हुने गरेको हाम्रो राजनीतिको नजिर छ । जस्तो कि वि. सं. २०५७ मा नेपाल वायु सेवा निगमले अष्ट्रियाको लाउडा एयरसँग विमान भाडामा लिएको थियो । यस कार्यमा ३८ करोड ९७ लाख ६७ हजार ३१ रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले ०५८ साल जेठ १२ गते विशेष अदालतमा मुद्दा हालेको थियो । त्यसबेला काँगे्रस सत्तामा थियो र बिभागीय मन्त्री तारिणीदत्त चटौत थिए । अख्तियारले चटौतसहित १० जनाविरुद्ध मुद्धा दायर गरेको थियो ।

प्रधानमन्त्री थिए, काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला । त्यतिबेला सदनमा प्रतिपक्ष थियो, नेकपा एमाले । यो प्रकरणमा एमालेले मन्त्री परिषदको सदस्यमाथि भ्रष्टाचारको अभियोग लागेको हुदा प्रधानमन्त्री कोइरालाले नैतिक आधारमा राजीनामा गर्नु पर्ने मुद्धा उठाएर सदनमा हंगामा मच्चायो ।

एमालेको यो मुद्धालाई आम जनताको समर्थन पनि रह्यो । ५६ दिनसम्म संसद अबरुद्ध भयो । संसदै नचली हिउँदे अधिबेशन समापन गरियो । राष्ट्रिय राजनीतिको यो नजिरले प्रधानमन्त्री ओली संकटमा देखिन्छन् । यद्यपि त्यतिबेला संबैधानिक निकाय अख्तियारले मुद्धा चलाएको थियो । अहिले मुद्धा नचले पनि कमिशनको बार्गेनिङ गरेको अडियो प्रमाणका रुपमा सार्बजनिक भइसकेको छ । यो ठूलो भ्रष्टाचार प्रकरणको रुपमा देखिएको छ । प्रधानमन्त्री ओलीले यसलाई कसरी फेस गर्लान, प्रतिक्षाको बिषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij