टेनिस रोका, काठमाडौं । उपत्यकाका तीन जिल्ला छुने बाहिरी चक्रपथ निर्माण कार्य अघि बढाउन सरकार अलमलमा परेको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर छुने गरी ७२ किलोमिटर दूरीको निर्माण गर्न लागिएको बाहिरी चक्रपथ आयोजना पछिल्लो समय पूर्ण निष्क्रिय छ ।
आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटले समेत बाहिरी चक्रपथ निर्माण आयोजना पाखा लगाएको छ । लक्ष्यअनुसार चालू आर्थिक वर्षमै एक किलोमिटर निर्माण कार्य जारी हुनुपर्ने थियो ।
तर, हालसम्म पनि निर्माण सुरु हुन सकेको छैन । फाइल सहरी विकास मन्त्रालयमै ठन्किएको छ । मन्त्रालयले बाहिरी चक्रपथ निर्माणमा चासो र तत्परता नदेखाउँदा चालू वर्षमा बाहिरी चक्रपथ निर्माण प्रगति शून्य छ ।
राष्ट्रिय योजना आयोगको वार्षिक विकास कार्यक्रममा २०७६÷७७ मा हुने मुख्य क्रियाकलापमा बाहिरी चक्रपथ आयोजनाको ठेक्का व्यवस्थापन गर्ने लक्ष्य छ । तर, सरकारले भने चासो देखाएको छैन ।
आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम र बजेटमा बाहिरी चक्रपथ विषय समेटिएको छैन । काठमाडौं चक्रपथका लागि भने बजेट विनियोजन भएको छ । काठमाडौं चक्रपथ सडक विस्तार कार्य सम्पन्न गर्न १ अर्ब ८१ करोड बिनियोजन गरिएकोमा बाहिरी चक्रपथको नामसमेत उल्लेख छैन ।
काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपानेले प्राधिकरणको ‘सिलिङ’अन्तर्गत १ अर्ब ११ करोड बिनियोजन भएकाले त्यहीँबाट बजेट विभाजन गरेर चक्रपथ निर्माण कार्य अघि बढाउने बताउँछन् ।
सहरी विकास मन्त्रालयको योजनाअनुसार चालू आर्थिक वर्ष २०७५÷७६ को दोस्रो चौमासिकमा एक किलोमिटर सडक निर्माण सुरु भइसक्नुपथ्र्यो । तर, सरकारको कमजोरीका कारण हालसम्म काम सुुरु भएको छैन ।
जग्गा अधिग्रहणका लागि सहरी विकास मन्त्रालयमा फाइल पुगे पनि महिनौंदेखि निर्णयबिहीन अवस्थामा छ ।
सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले चक्रपथ निर्माणमा लगानी सुनिश्चितता नभई जग्गा अधिग्रहण अघि नबढाउने बताए । लगानी सुनिश्चित नभई जग्गा अधिग्रहण गराउँदा जग्गा व्यापारीले भाउमात्र बढाउने हुँदा पहिले लगानी सुनिश्चितता खोजिएको उनको भनाइ छ ।
– सरकारको नीति तथा कार्यक्रम र बजेटले चिनेन बाहिरी चक्रपथ
– जग्गा अधिग्रहणको फाइल मन्त्रालयमा थन्कियो
–आर्थिक वर्ष २०७५÷७६ मा प्रगति शून्य
–योजना आयोगको आगामी लक्ष्य, ठेक्का व्यवस्थापन
पहिलो खण्डको ६ दशमलव ६ किलोमिटर जग्गामा २ हजार ९ सय ५३ साना कित्ता परेपछि ‘त्यसलाई कसरी अगाडि बढाउने ?’ भन्ने विषयले बाहिरी चक्रपथ निर्माण प्रभावित हुन पुगेको हो ।
४ वैशाख २०७५ मा बसेको मन्त्रिपरिषद् बैठकबाट पहिलो खण्डको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएको थियो ।
मन्त्रालयको आर्थिक वर्ष २०७५÷७६ को योजनाअनुसार बाहिरी चक्रपथको चोभारदेखि सतुंगल खण्डको ६.६७ किमी २०७९÷८० सम्म सम्पन्न गर्ने लक्ष्य छ ।
मन्त्रालयको कार्यतालिकाअनुसार चालू वर्षको प्रथम चौमासिकमा काम सुरु गर्ने र दोस्रो चौमासिकमा १ किमी निर्माण सुरु हुने लक्ष्य थियो । तर, पछिल्लो पटक जग्गामा विवाद देखिएपछि मन्त्रालय पुगेको फाइल थन्किएर बसेको छ ।
मन्त्री राईले संसद् विकास समितिमा डिपीआर परिवर्तन गरेरमात्र बाहिरी चक्रपथ निर्माण कार्य गर्न सम्भव रहेको बताएका थिए ।
बाहिरी चक्रपथ ८ लेनको बनाउने सरकारको तयारी छ । सडकका दुवै भागमा साइकल ट्रयाक र ‘ग्रिन बेल्ट’सहितको फुटपाथ निर्माण गर्ने योजना बनाइएको छ ।
चक्रपथ काठमाडौं उपत्यकाका तीनवटै जिल्ला छुनेगरी बनाउन लागिएको छ । बाहिरी चक्रपथ तराई जोड्ने ‘फास्ट ट्रयाक’का साथै अरनिको, त्रिभुवन र पृथ्वी राजपथसँग जोडिनेछ । बाहिरी चक्रपथ निर्माणका लागि साढे ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
राजधानीबाट