काठमाडौं । इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। होर्मुज जलमार्गमा साइप्रसको झण्डा बोकेको कन्टेनर जहाजमाथि आक्रमण भएको आरोप लागेपछि दुवै देशबीचको टकराव नयाँ चरणमा पुगेको हो।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले यस हप्ता इरानका विभिन्न सैन्य लक्ष्यहरूमा तेस्रो चरणको हवाई आक्रमण सुरु गरेको जनाएको छ। यसअघि बुधबार र बिहीबार पनि अमेरिकी सेनाले इरानका विभिन्न सैन्य आधारहरूलाई लक्षित गरी आक्रमण गरेको थियो।
इरानका सरकारी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बास, सिरिक, चाबहार, बन्दर-ए देयर, असलुयेह र बुशेहरस्थित सैन्य ब्यारेकहरूमा कम्तीमा १२ वटा विस्फोट भएका छन्।
यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्स (आईआरजीसी) ले होर्मुज जलमार्ग अस्थायी रूपमा बन्द गरिएको घोषणा गरेको छ। आईआरजीसीले आफ्नो अनुमति बिना कुनै पनि जहाजलाई उक्त जलमार्ग पार नगर्न चेतावनी दिएको छ। इरानले अनुमति नलिई आफ्नो जलक्षेत्रमा प्रवेश गर्ने जहाजमाथि चेतावनीस्वरूप गोलीसमेत चलाइएको दाबी गरेको छ।
तनावकै बीच इरानका नयाँ सर्वोच्च नेता अयातोल्लाह मोज्तबा खामेनीले आफ्ना बुबा अयातोल्लाह अली खामेनीको हत्याको बदला लिने प्रतिबद्धता व्यक्त गरेका छन्। आफ्नो पहिलो सार्वजनिक सन्देशमा उनले ‘बुबाको रगतको बदला अवश्य लिने’ बताएका छन्।
यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानलाई कडा चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत इरानले आफूलाई निशाना बनाउने प्रयास गरेमा कडा सैन्य जवाफ दिइने उल्लेख गर्दै आवश्यक परे ठूलो संख्यामा क्षेप्यास्त्र प्रहार गर्न अमेरिका तयार रहेको बताएका छन्।
समुद्री सुरक्षा विज्ञ तथा सेन्टर फर मेरिटाइम स्ट्राटेजीका वरिष्ठ फेलो इयान राल्बीले इरानले होर्मुज जलमार्गमा आफ्नो रणनीतिक नियन्त्रण विस्तार गर्ने प्रयास गरिरहेको टिप्पणी गरेका छन्। उनका अनुसार इरानले जहाजहरूको आवागमनमाथि अनुमति, निरीक्षण र शुल्क प्रणाली लागू गर्न खोजिरहेको देखिन्छ, जसले अन्तर्राष्ट्रिय समुद्री व्यापार र स्वतन्त्र जलयात्रामाथि गम्भीर प्रभाव पार्न सक्छ।
इरानको विदेश मन्त्रालयका प्रवक्ताका सल्लाहकार अली सफारीले भने अमेरिकी आक्रमणको कडा विरोध गरेका छन्। उनले अमेरिकी दबाबमा सञ्चालन गरिएका वैकल्पिक ढुवानी मार्गहरूले क्षेत्रीय सुरक्षा झन् कमजोर बनाएको दाबी गर्दै इरान युद्धका लागि पूर्ण रूपमा तयार रहेको चेतावनी दिएका छन्।
उता, अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले बढ्दो अमेरिका–इरान तनावका कारण विश्वव्यापी तेल आपूर्ति प्रभावित हुन सक्ने र लामो समयसम्म ऊर्जा बजारमा अस्थिरता सिर्जना हुने जोखिम रहेको जनाएको छ।