२०८३ साउन १० आइतबार

संवैधानिक परिषद् बैठक बस्दै, रिक्त पदमा सिफारिसको तयारी

ई आर्थिक    शुक्रबार, असार १९ २०८३
627
Shares
संवैधानिक परिषद् बैठक बस्दै, रिक्त पदमा सिफारिसको तयारी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषद्को बैठक बस्दैछ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा अपराह्न ५ बजेका लागि बोलाइएको हो।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकको मुख्य एजेन्डा विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदहरूमा नियुक्तिका लागि योग्य व्यक्तिको नाम सिफारिस गर्ने रहेको छ।

हाल निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, मुस्लिम आयोग, राष्ट्रिय समावेशी आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, थारू आयोग, मधेसी आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग तथा राष्ट्रिय महिला आयोगलगायत संवैधानिक निकायमा दर्जनभन्दा बढी पद रिक्त छन्।

निर्वाचन आयोगमा अध्यक्षसहित दुई, राष्ट्रिय मानव अधिकार आयोगमा एक सदस्य, मुस्लिम आयोगमा अध्यक्षसहित दुई, राष्ट्रिय समावेशी आयोगमा अध्यक्षसहित दुई, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सदस्य, थारू आयोगमा अध्यक्षसहित दुई, मधेसी आयोगमा अध्यक्षसहित दुई, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्षसहित तीन तथा राष्ट्रिय महिला आयोगमा एक सदस्यको पद खाली रहेको छ।

संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषद्ले रिक्त पदका लागि योग्य व्यक्तिको नाम छनोट गरी संसदीय सुनुवाइका लागि सिफारिस गर्ने व्यवस्था छ। आजको बैठकबाट लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायका पदपूर्तिको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij