वसन्तप्रताप सिंह, असार १६, २०७५, बझाङ — क्षेत्रफलका हिसाबले नेपालकै ठूलो र सुविधा हिसाबले सम्भवत: सबैभन्दा विकट बझाङको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामी २०७४ चैत २२ गते ज्ञापनपत्र लिएर प्रदेश ७ को मुख्यमन्त्री कार्यालय पुगे । उनको मुख्य माग थियो, नेपाल र तिब्बतको सीमामा पर्ने साइपाल गाउँपालिकाको उरै भन्जाङ नाकामा भन्सार कार्यालय र सुरक्षा पोस्ट स्थापना ।

नेपाल र चीनको सीमा क्षेत्र उरै भन्ज्याङ नाका । तस्बिर : वसन्तप्रतापयही माग लिएर उनले प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहलाई पनि भेटे । उनको तर्क थियो, ‘बर्सेनि अर्बाैं मूल्यको जडीबुटी यो बाटो भएर अवैध निकासी भइरहेको छ । यसलाई रोक्न सकिए वार्षिक ८/१० करोडभन्दा बढी राजस्व संकलन हुन्छ । यसले गाउँपालिका मात्र नभएर जिल्ला र देशकै हित हुन्छ ।’ उनको अर्काे तर्क थियो, ‘यही नाका भएर तिब्बतमा तस्करी हुने वन्यजन्तुका आखेटोपहारका कारण बझाङमा चोरीसिकार बढ्दै गएको छ । यसले गर्दा नेपाल सरकारले दुर्लभ र लोपोन्मुखको सूचीमा समावेश गरेका वन्यजन्तु अस्तित्व खतरामा छ ।’
टहरा बनाएर खुलेआम अवैध कारोबार गरिरहेका हुन्छन् । अवैध निकासी नियन्त्रणमा ल्याउन सकिए बर्सेनि १० करोडभन्दा बढी राजस्व उठ्न सक्छ ।
ज्ञापनपत्र बुझेका मुख्यमन्त्रीले यस विषयमा संघीय सरकारलाई लेखिपठाउने र आगामी नीति तथा कार्यक्रममा पनि नाकामा सुरक्षा पोस्ट स्थापनाको माग समेट्ने आश्वासन दिएका थिए । आन्तरिक मामिला तथा कानुनमन्त्रीबाट समेत उनले यस विषयमा पहल गर्ने प्रतिबद्धता पाएका थिए । जब प्रदेश सरकारको नीति कार्यक्रम आयो, धामीको माग कतै समेटिएको पाइएन । सुरक्षा पोस्ट राख्ने विषय कतै उल्लेख नभएको थाहा पाएपछि उनले खिन्नता प्रकट गर्दै भने, ‘भाषणमा समृद्धिका कुरा गर्छन् । अर्बाैं रुपैयाँ बर्सेनि बगिरहेको देख्दैनन् । सायद राजनीति भनेकै यही हो कि ?’ उनले भनेजस्तै बझाङको उरै भन्ज्याङ नाका भएर वन्यजन्तुका आखेटोपहार र बहुमूल्य जडीबुटी त तिब्बततर्फ जान्छ नै, तातोपानी नाका बन्द भएपछि भारतबाट रक्तचन्दन चीन पुर्याउने तस्करहरूले पनि यही नाका प्रयोग गर्ने गरेको प्रत्यक्षदर्शी बताउँछन् ।

नाका हुँदै भेडालाई जडीबुटी बोकाएर तिब्बत पुर्याई फर्किएको टोली।
२०५९ सम्म सीमाभन्दा २ किलोमिटर वर कांलगामा नेपाल प्रहरीको अस्थायी सुरक्षा क्याम्प बस्ने गरेको थियो । संकटकालमा उक्त क्याम्प हटाइयो । अहिले नेपालको सीमा सुरक्षा चौकी साइपाल गाउँपालिकाको धुली गाउँमा छ ।
यो सीमाभन्दा झन्डै ३० किलोमिटर वर पर्छ । गाउँपालिका अध्यक्ष धामीकै भाषामा भन्दा उता सीमाक्षेत्रमा ‘तस्करहरूको राज्य’ छ ।
साइपाल गाउँपालिकाकै मानबहादुर बोहरा भन्छन्, ‘सीमा वरिपरि ठाउँठाउँमा अस्थायी टहरा नै खडा गरेर तस्करहरूले खुलेआम कारोबार गरिरहेका हुन्छन् । त्यहाँ कसैको पनि डर हुँदैन ।’ असारदेखि कात्तिकसम्म खुला हिमाली पाटनमा टनका टन प्रतिबन्धित जडीबुटी सुकाएको, अस्थायी टहराहरूमा बोराका बोरा जडीबुटी तिब्बत लैजाने तयारीमा राखिएको र जडीबुटी तथा अन्य प्रतिबन्धित सामान लिएर दिउँसै निर्धक्क हिँडिरहेका खच्चर, भेडा, भरिया र तस्करीमा संलग्न व्यक्तिको ताँती नै भेटिने गरेको उनले बताए । ‘यो सिजन (असार–कात्तिक) मा साइपाल गाउँपालिका हुँदै तिब्बत जाने बाटोमा पर्ने चौरहरूमा खुलेआम ठूलो परिमाणमा जटामसी र कटुकीलगायत जडीबुटी सुकाइएको सहजै देख्न सकिन्छ,’ मानबहादुरको भनाइमा सही थप्दै साइपाल–४ का वडाध्यक्ष धनजय रोकायाले भने, ‘बझाङ, हुम्ला, दार्चुलादेखि मुगु, कालिकोटका मान्छेको बसोबास नै ४ महिना त्यहीँ हुन्छ ।’
उनका अनुसार नेपाल–चीनको सीमास्तम्भ रहेको उरै भन्ज्याङबाट करिब ३० मिनेट ओरालो झरेपछि तिब्बतको पुराङ काउन्टीअन्तर्गत पर्ने ठाडोढुंगा पुगिन्छ । यहाँ लहरै टाँगिएका अस्थायी पालले भर्खरै सडक पुगेपछि बनेको कुनै नयाँ बजारको झल्को दिने गरेको स्थानीय बताउँछन् । यिनै पालभित्र भण्डारण गरेर राखिएको जडिबुटी, वन्यजन्तुको आखेटोपहार र रक्तचन्दन असारदेखि कात्तिकसम्म तिब्बतको सीमावर्ती बजार ताक्लाकोट ओसार्ने गरिएको छ ।
यो सिजनमा बझाङको साइपाल गाउँपालिकादेखि चीनको ताक्लाकोटसम्म ओहोरदोहोर गर्नेहरू प्रशस्त भेटिन्छ । उनीहरूलाई लक्षित गरी बाटोमा ३ दर्जनभन्दा बढी अस्थायी होटल खुलेका छन् । बझाङ, दार्चुला, हुम्ला, मुगु र कालिकोटसम्मका सर्वसाधारणहरू व्यापारीको रातो च्याउलगायत प्रतिबन्धित जडिबुटी बोकेर हिँडिरहेका हुन्छन् । फर्किंदा ज्यालाबाट आएको रकमले लत्ताकपडा, जुत्ता, मदिरा ल्याउँछन् ।
तिब्बतको लुक्पु (बझाङी भाषामा कठान) सीमा सुरक्षा पोस्टनजिक ६ वर्षदेखि होटल चलाउँदै आएका हुम्लाका बहादुर लामाले तिब्बततर्फ आउने अवैध सामानबारे जानकारी दिँदै भने, ‘जडिबुटी, कस्तुरीको बिना, बाघको छाला हड्डी, बहुमूल्य पथ्थर, रक्तचन्दन सबै यही बाटो आउँछ ।’ सयौं व्यापारी र भरिया हिँड्ने भएकाले ५ महिनाजति बाटोमा मेला नै लाग्ने गरेको उनले बताए ।

सीमा क्षेत्रमा जडीबुटी भण्डारणका लागि बनाइएका क्याम्प। तस्बिर : वसन्तप्रताप
तिब्बततर्फ बढी निकासी हुने सतुवा, कटुकी, वनलसुन अव्यवस्थित संकलनका कारण लोप हुने अवस्थामा पुगेको भन्दै जिल्ला परिषद् बझाङले २ वर्षलाई संकलनमा रोक लगाएको छ । पाँचऔंले विश्वमै लोपोन्मुख प्रजाति रहेकाले यसको संकलनमा सरकारले नै प्रतिबन्ध लगाएको छ । रातो च्याउ ओसारपसारका लागि के व्यवस्था गर्ने भन्ने प्रस्ताव मन्त्रिपरिषद्मा विचाराधीन रहेको जिल्ला वन कार्यालय बझाङले जनाएको छ ।
रक्तचन्दनको ट्रान्जिट
२०६८ चैतमा बझाङ प्रहरीले तिब्बततर्फ लैजाँदै गरिएको अवस्थामा रिठापाटाको बारिलबाट करिब ३५ क्विन्टल रक्तचन्दनसहित ८६ जना भरियालाई पक्राउ गर्यो । उनीहरू सबै बाजुराका थिए । त्यही वर्ष असोजमा १ सय ५० भन्दा बढी भरिया लगाएर करिब ५० क्विन्टल रक्तचन्दन तिब्बत पुराइएको सार्वजनिक भएको थियो । बझाङका भरियाबाट खुलासा भएको उक्त तस्करी काण्डमा प्रहरी प्रशासनको पनि मिलेमतो रहेको आशंका गरिएको थियो ।
त्यसयता उक्त नाका भएर तिब्बत पुग्ने रक्तचन्दन नियन्त्रणमा लिइएको छैन । ‘यो बाटो रक्तचन्दन आउन थालेको ६/७ वर्ष जति भयो,’ लुपुमा ११ वर्षदेखि होटल व्यवसाय गर्दै आएका हुम्लाका एक व्यक्तिले भने, ‘पहिला पहिला बाघका छाला, कस्तुरी जस्ता सामान बढी आउँथ्यो, आजकल रक्तचन्दन बढी आउँछ ।’ २०७३ मा बाजुरा साप्पाटाका १ सय २३ जना भरिया प्रयोग गरेर झन्डै ४० क्विन्टलजति रक्तचन्दन तिब्बत गएको र २०७४ को तिहारताका दैलेखका १ सयभन्दा बढी भरियाले ३५/३६ क्विन्टल रक्तचन्दन तिब्बततर्फ ओसारेको उनले बताए । प्राय: बाटोका सबै होटल उठिसकेपछि दसैं–तिहार आसपास र चैत अन्त्यतिर रक्तचन्दन ओसारपसार बढी हुने गरेको उनको भनाइ छ ।
तातोपानी नाका बन्द भएको र रसुवालगायत अन्य नाकामा कडाइ रहेकाले तस्करले बझाङ प्रयोग गर्न थालेका हुन् । बझाङको नाकामा सुरक्षा व्यवस्था नभएकाले तस्करले सजिलै रक्तचन्दन तिब्बत पुर्याउने गरेको नेपाल–चीन उद्योग व्यापार संघअन्तर्गतको कैलाश व्यापार संघका सचिव जगत तामाङले बताए ।
बाघको छालामा कडाइ
केही वर्ष पहिले निर्बाध रूपमा बाघको छाला हातमै बोकेर मोलमोलाई हुने गरेकोमा ताक्लाकोट प्रशासनले अन्तर्राष्ट्रिय दबाबका कारण खरिदबिक्रीमा प्रतिबन्ध लगाएपछि २ वर्षयता यो नाका भएर आउने बाघको छाला र हड्डीको कारोबार घटेको जानकार बताउँछन् ।
गतवर्ष मात्र बाघको छाला र हड्डीको मुख्य खरिदकर्ता एक व्यक्तिलाई तिब्बत प्रशासनले पक्राउ गरेपछि यसको कारोबारमा निक्कै कमी आएको तिब्बतको ताक्लाकोटमा फुरु (काठका भाँडाको) व्यापार गर्दै आएका कैलाश व्यापार संघका सचिव तामाङले जानकारी दिए । ‘पहिला पहिला धेरै बेचेको सुनिन्थ्यो । एक वर्ष जति भयो, त्यस्तो खालको मान्छे ताक्लामा भेटिएको छैन,’ उनले भने, ‘पहिलाजस्तो छैन, गर्नेले त भित्रभित्र गरेकै होला ।’
कस्तुरी बिनाको मूल्य र निकासी भने प्रतिवर्ष बढदै गएको बताइन्छ । गत वर्ष प्रतितोला ३५ हजारसम्म किनबेच भएको कस्तुरी बिना यसवर्ष ५५ देखि ६५ हजारसम्म कारोबार भएको ताक्लाकोटमा ११ वटा कस्तुरी बिना बेचेर फर्किएका बझाङ, काँडाका एक व्यक्तिले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए । आफूले ५ वटा बिना बझाङका साबिक दाँतोला र ४ वटा सुर्मा र दौलिचौर गाविसका सिकारीबाट खरिद गरेको जनाउँदै उनले २ वटा बिना काँडाका सिकारीबाट प्रतितोला २५ देखि ३० हजारमा खरिद गरेको बताए । कस्तुरी व्यापारमा बझाङ र हुम्लाका गरी ५/७ जना व्यापारी रहेको र उनीहरूले यो वर्ष बझाङबाट मात्र ५० वटाजति बिना संकलन गरेर तिब्बत पुर्याएको उनको भनाइ छ ।
नियन्त्रण गर्न विशेष व्यवस्था आवश्यक
बझाङको यो नाकामा भन्सार कार्यालय खोलिनुपर्ने र सीमा सुरक्षाका लागि विशेष खालको सुविधासहित ससस्त्र प्रहरीलाई खटाइनुपर्ने आवाज साइपाल गाउँपालिका मात्र नभएर जिल्लामै पटकपटक उठ्ने गरेको छ । चुनावताका उम्मेदवारहरूको प्रमुख एजेन्डा बन्ने गरेको यो नाकामा भन्सार कार्यालय र सुरक्षा व्यवस्था गर्न तत्कालीन बझाङ जिल्ला परिषद्ले पटकपटक निर्णय गरेर केन्द्रमा पठाएको र सुनुवाइ नहुँदा उरै नाका तस्करका लागि सहज बन्दै गएको बझाङका अधिकारीहरू बताउँछन् ।
भन्सार कार्यालय र प्रहरीको उपस्थिति राम्रो भए जिल्ला वनले पनि पोस्ट खडा गर्ने र प्रहरी प्रशासनसँग मिलेर तस्करी नियन्त्रण गर्न सहज हुने जिल्ला वन अधिकृत अशोककुमार श्रेष्ठले बताए । ‘बर्सेनि ठूलो मात्रामा वन्यजन्तुका अंग र जडिबुटी जान्छ भन्ने त हामी पनि सुन्छौं,’ उनले भने, ‘तर हामीसँगको जनशक्ति र सीमा सुरक्षा चौकीमा अहिले भएका प्रहरीका भरमा यो नियन्त्रण गर्न सम्भव छैन ।’ सीमामा सरकारको उपस्थिति शून्य हुँदा बर्सेनि करोडौं राजस्वसमेत गुमिरहेको उनको भनाइ छ ।
जडिबुटी र आखेटोपहार तस्करी भइरहेको जानकारी पाए पनि रक्तचन्दन तस्करीको विषय थाहा नभएको प्रहरी नायब निरीक्षक ऋषिराम कँडेलले बताए । अहिलेको सीमा सुरक्षा चौकी रहेको धुलीबाट सीमासम्म पुग्नै ३ दिन लाग्ने र तस्करीको सूचना पाए पनि प्रहरी पुग्दासम्म तस्कर भागिसक्ने भएकाले गैरकानुनी गतिविधि रोक्न सीमानजिकै प्रहरीको उपस्थिति हुने खालको व्यवस्था गर्नुपर्ने उनले जनाए । ‘हिमाली भूभाग भएका कारण अहिलेकै सुविधामा त्यहाँ कोही पनि बस्न सक्ने अवस्था हँ‘दैन । विशेष सुविधासहित बाह्रै महिना सीमामा प्रहरी रहने खालको व्यवस्था गर्नुपर्छ,’ कँडेलले भने ।
रोकिएन तस्करी
माधव घिमिरे, विनोद भण्डारी, विराटनगर — प्रदेश १ प्रहरी कार्यालयको वेबसाइटमा राखिने आपराधिक घटनाको सूचीमा दैनिकजसो एउटा विवरण समेटिएकै हुन्छ । सवारी दुर्घटना, प्राकृतिक विपत्जस्ता घटनाका विवरण प्रशस्तै हुने त्यो सूचीमा दैनिकजसो पर्ने अर्को घटना हो– भन्सार छलेका सामान बरामद ।

मोरङको मझारेस्थित छोटी भन्सारको कार्यालय भवन । द्वन्द्वका बेला असुरक्षा भएको भन्दै विस्थापित मोरङको सीमाक्षेत्रका आधा दर्जन छोटी भन्सार अझै पुन:स्थापित हुन सकेका छैनन् । तस्बिर : माधवप्रदेश १ का भारतसँग सीमा जोडिने मोरङ, झापा र सुनसरीका विभिन्न नाका हुँदै हरेक दिन केही न केही सामान प्रहरीले बरामद गरेकै हुन्छ । मुख्य भन्सार नाका आसपास र सुरक्षा निकायको उपस्थिति नरहेका ठाउँहरूबाट भन्सार छल्दै त्यस्ता सामान भित्रने गरेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, राजस्व गस्तीलगायत टोलीले बरामद गर्नेमा भारतबाट भन्सार छलेर ल्याइएका खाद्यान्न, कपडा, विद्युतीय सामग्री, मोटर पाटर््स, शृंगारका सामान, मललगायत हुन्छन् । बरामदपछि मूल्यांकन गरेर प्रहरीले भन्सार कार्यालयमा बुझाउने गर्छ ।
प्रदेश १ का मुख्य नाकाहरू विराटनगर, काँकडभिट्टालगायत आसपासबाट ‘चोरबाटो’ हुँदै यस्ता सामान भित्रन्छन् । खुला सीमा हुनु र सबैतिर सुरक्षा निगरानी पुग्न नसक्नु जस्ता कारणले चोरी तस्करी नियन्त्रण हुन सकेको छैन । भन्सारमा यसरी बुझाइएका घटनाको मुद्दा चालु आर्थिक वर्षको वैशाखसम्म ५ सय ५ वटा छन् । यस्ता मुद्दामा एक करोड रुपैयाँ बिगोसम्मका भन्सारले नै हेर्छ भने त्यसभन्दा माथि बिगो भएका मुद्दा अदालतले हेर्ने प्रावधान छ ।आर्थिक वर्ष २०७४/७५ को वैशाख मसान्तसम्म १ करोड ९६ लाख ३८ हजार रुपैयाँ बराबरको चोरी निकासी/पैठारीका सामान बरामद भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको यति नै अवधिमा बरामद गरिएको परिमाणभन्दा बढी हो ।
आव २०७३/७४ मा १ करोड ३३ लाख २२ हजार रुपैयाँ बराबरको तस्करीका सामान बरामद भएको थियो । सशस्त्र प्रहरी, भन्सार राजस्व गस्ती र नेपाल प्रहरीको टोलीले यति परिमाणको सामान बरामद गरेका हुन् ।
केही समयअघिसम्म तेस्रो देशबाट आयातीत ठूलो परिमाणको सुपारी तस्करी भएर सीमापारि जाने गरेको थियो । अहिले यो कम भएको उल्लेख गर्दै एक व्यवसायीले पछिल्लो समय मरिच, केराउजस्ता वस्तु चोरी निकासी हुने गरेको बताए । यसैगरी सुनसरीको भन्टाबारी नाका हुँदै चिनियाँ स्याउ तस्करी हुने गरेको छ ।
चोरी पैठारी नियन्त्रण गर्न स्थापना गरिएका छोटी भन्सारहरू सबै सञ्चालनमा आउन नसक्दा पनि समस्या भइरहेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख मीमांश अधिकारीका अनुसार मोरङका ९ मध्ये हाल तीनवटा छोटी भन्सार मात्र सञ्चालनमा छन् ।
डाइनियाँ, रंगेली र मायागन्जस्थित छोटी भन्सार सञ्चालनमा छन् । तर ती नाकामा भारततर्फ भन्सार इकाइ नहुँदा प्रभावकारी भएका छैनन् । ‘सञ्चालनमा रहेका छोटी भन्सारका कारण चोरी निकासी र पैठारी नियन्त्रण भएको छ,’ अधिकारीले भने, ‘तर राजस्व संकलन न्यून मात्र छ ।’
पछिल्लो समय चोरी पैठारी र निकासी धेरै हदसम्म नियन्त्रण भएको उनको भनाइ छ । ‘सीमा नाकाहरूमा कडाइका कारण ठूलो परिमाणमा चोरी पैठारी भएको छैन,’ उनले भने, ‘खुला सीमा भएकाले थोरै–थोरै परिमाणमा सामान आउने गरेको पाइएको छ ।’ विराटनगर भन्सारको राजस्व संकलन दर गत वर्षभन्दा करिब २९ प्रतिशतले बढेको छ । वैशाखसम्म २५ अर्ब ३० करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकामा भन्सार कार्यालयले २५ अर्ब ३४ करोड रुपैयाँ संकलन गरिसकेको अधिकारीले बताए । चालु आर्थिक वर्षमा यो कार्यालयले ३१ अर्ब २४ करोड संकलन गर्ने लक्ष्य राखेको छ ।
द्वन्द्वका बेला गाभिएका मोरङका अरू ६ वटा छोटी भन्सार अझै पुनस्र्थापित हुन सकेका छैनन् । मोरङको करिब ६० किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ । जोडिएका सबैजसो क्षेत्रका बाटो भएर भन्सार छलीका सामान भित्रने गरेका छन् । मोरङको डाइनियास्थित छोटी भन्सार कार्यालयका कर्मचारी श्याम चौधरीका अनुसार नाकाभन्दा वरपरबाट छलेर सामान भित्रने गरेको छ । त्यसरी ल्याइएका भारतीय सामान डाइनिया, आमगाछी, सिजुवालगायत बजारमा छ्यापछ्याप्ती पाइने गरेको उनले बताए ।
सुनसरीबाट बढी तस्करी
पूर्वी क्षेत्रमा सबैभन्दा बढी सुनसरीबाट तस्करी हुने गरेको छ । चालु आर्थिक वर्षको हालसम्म चोरी निकासी र पैठारी गरिएका ३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरका सामान बरामद गरिएको सुनसरीको भन्टाबारीस्थित भन्सार कार्यालयका प्रमुख विष्णु पौडेलले बताए । प्रहरी गस्तीले फेला पारेको यो परिमाणभन्दा निकै बढी सामान तस्करी हुने गरेको व्यवसायी बताउँछन् । यो नाकाबाट गाडीसमेत तस्करी हुने गरेको छ । उक्त कार्यालयले यस वर्ष १३ करोड राजस्व असुलीको लक्ष्य लिएकामा जेठ तेस्रो सातामै पूरा गरेको छ । भन्सार छलेर रातिको समयमा चिनी र खाद्यान्न ल्याइने र यताबाट स्याउ भारततर्फ लैजाने गरिएको पाइएको पौडेलले बताए । यसलाई नियन्त्रण गर्न प्रहरी परिचालित भएको उनले जनाए ।
सुनसरीका श्रीपुर, हरिपुर, कप्तानगन्ज, लौकही, वसन्तपुरलगायत सीमा नाकाबाट महिला र बालबालिकाको प्रयोग गरी साइकलमा सामान ओसारपसार हुने गरेको छ । प्रहरीले उनीहरूलाई पक्राउ गरी सामान नियन्त्रणमा लिने गरे पनि ओसार्ने क्रम रोकिएको छैन । ढुंगा, गिट्टी, बालुवा र चिनियाँ स्याउ सुनसरीबाट बढी चोरी निकासी हुने पाइएको छ । केही अघि ट्रकका ट्रक चिनियाँ स्याउ तस्करी गरी लैजाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
असुली बढ्यो
यसैगरी झापामा चोरी तस्करीका २ करोड रुपैयाँ बराबरका सामान बरामद गरिएको मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले बताए । विगतको तुलनामा यो नाका र आसपास क्षेत्रबाट हुने तस्करी घटेको दाबी गर्दै उनले गत वर्षको तुलनामा राजस्व असुली ५० प्रतिशतले बढेको बताए ।
यस वर्ष ९ अर्ब राजस्व असुली गर्ने लक्ष्य रहेकामा जेठ तेस्रो सातामै पूरा भइसकेको अर्यालले जनाए । गत वर्ष यो कार्यालयले ६ अर्ब ५४ करोड राजस्व असुली गरेको थियो । ‘इलामको पशुपतिनगर, झापाका बाहुनडाँगी, भद्रपुर र गलगलिया नाकाबाट बढी तस्करी हुन्थ्यो,’ उनले भने, ‘अहिले नियन्त्रण हुन थालेपछि सीमापारिका व्यापारी छटपटाउन थालेका छन् ।’
झापाको दक्षिण र पूर्वी सीमा भारतसँग जोडिएको छ । करिब १ सय १८ किलोमिटर जोडिएको यो खुला सीमाका दर्जनौं नाकाबाट सुपारी, कपडा, विद्युतीय सामान, खाद्यान्नलगायत वस्तु चोरी पैठारी हुने गरेको छ । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराका अनुसार विगतको तुलनामा खुला रूपमा हुने गरेको तस्करी धेरै नियन्त्रणमा आएको छ । पछिल्लो समय खाद्यान्न र कपडाको तस्करी बढी हुने गरेको उनले बताए ।
‘भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा यस्ता सामान ल्याउने गरिएको छ,’ बोहराले भने, ‘एकजनाले दिनमा १० पटकसम्म यसरी सामान ल्याउने पाइएको छ, यसलाई नियन्त्रण गर्न संक्षिप्त कर बिजक प्रभावकारी रूपमा लागू गरिनुपर्छ ।’ एक हजार रुपैयाँसम्मको मूल्य घोषणा गरेर सामान ल्याउन दिइएको उल्लेख गर्दै उनले यही कारण घरायसी प्रयोजनका नाममा तस्करी बढेको बताए । एकपटकका लागि बनाइएको बिजकलाई पटकपटक प्रयोग गरी सामान भित्र्याउने गरेका धेरै उदाहरण भेटिएको बोहराले बताए ।
कान्तिपुरबाट