२०८३ साउन ९ शनिबार

भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज आउँदै, औपचारिक जानकारी ‘भ्रमणकै दिन’

ई आर्थिक    बिहिबार, माघ १८ २०७४
1.9K
Shares
भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज आउँदै, औपचारिक जानकारी ‘भ्रमणकै दिन’

‘स्वराजको भ्रमणले ओलीलाई दिल्ली होइन, मोदीलाई काठमाडौंको यात्रा तय गर्ने सम्भावना छ’

चन्द्रशेखर अधिकारी, माघ १८, २०७४, काठमाडौँ — परराष्ट्र मन्त्रालयले भारतीय विदेशमन्त्री सुष्मा स्वराज करिब २५ घण्टे ‘राजनीतिक’ यात्रामा बिहीबार (आज) काठमाडौं ओर्लने औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

भारतीय विदेश मन्त्रालयले भ्रमण घोषणा गरेको दुई दिनपछि परराष्ट्रले त्यस्तो जानकारी गराएको हो ।

परराष्ट्रमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भने मन्त्रालयले बिहीबार (सुष्मा आइपुग्नु केही घण्टाअघि मात्र) भ्रमणको औपचारिक जानकारी गराउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालय बुधबार मात्रै दुईपक्षीय एजेन्डा र खाका तयार गर्नमा जुटेको छ । परराष्ट्रमन्त्रीको कार्यभार आफैंले सम्हालेकाले सुष्मासँग दुईपक्षीय वार्ता पनि प्रधानमन्त्री देउवाले नै गर्दैछन् ।
अहिलेसम्म अघि बढेका परियोजना, सीमाको विवाद र समाधान, डुबान समस्या, सडक सञ्जाल, रेलमार्ग, सीमा अपराध नियन्त्रण, प्रबुद्ध व्यक्ति समूहको लगातार बैठक र प्रगतिलगायत समय–समयमा उठ्ने दुईपक्षीय मामिलाका विषयमा परराष्ट्रले प्रधानमन्त्री देउवालाई जानकारी गराउने तयारी गरेको छ । त्यही आधारमा देउवाले स्वराज नेतृत्वको समूहसँग छलफल गर्नेछन् । यस अलावा राजनीतिक छलफल पनि हुनेछ । राजनीतिक भ्रमण भनिए पनि भारतीय विदेश मन्त्रालयको सशक्त ‘टिम’ रहने जानकारीपछि परराष्ट्र मन्त्रालयले यस्तो तयारी गरेको स्रोतले बतायो ।
‘परराष्ट्र अधिकारीहरूले बिहीबार प्रधानमन्त्रीलाई समग्र विषय जानकारी गराउनेछन्, प्रधानमन्त्रीले त्यही आधारमा स्वराजसँग वार्ता हुनेछ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईले भने, ‘अन्य राजनीतिक विषयमा प्रधानमन्त्री आफैं जानकार हुुनुहुन्छ । आन्तरिक छलफलहरू भइरहेको छ ।’ भ्रमणको हल्ला चल्दा परराष्ट्र सचिव शंकर बैरागी ब्राजिल भ्रमणमा रहेकाले तयारीमा केही ढिलो भएको परराष्ट्र अधिकारीहरूले बताए । भारत हेर्ने महाशाखाले भने आफ्नै तरिकाले तयारी गरिरहेको थियो । समय तालिका अझै स्पष्ट हुन नसकेको समेत परराष्ट्र अधिकारीले बताउँदै भने, ‘बिहान १२ बजे भनिएको थियो, अहिले साढे ३ बजे आउने भनिएको छ । के विषयमा छलफल भन्ने वा कस्तो भ्रमण भन्नेस्पष्ट छैन ।’
नेपालको संविधानप्रति भारतले पहिलेदेखि नै असन्तुष्टि व्यक्त गरिरहे पनि निर्वाचन सम्पन्न भएर वाम गठबन्धनको सरकार बन्ने निश्चित भएपछि यो भ्रमण हुन लागेको हो । भ्रमण अचानक भए पनि भारतीय पक्ष पूर्ण तयारी र स्पष्ट एजेन्डासहित आउनेमा दुईमत नभएको भारतस्थित नेपाली दूतावास स्रोतले जनायो । ‘भ्रमण अपर्झट हो तर सशक्त समूहसहित भ्रमण हुँदै छ । यो कुनै एक दूतले गर्ने भ्रमण होइन । भ्रमणमा आउने हरेकको दृष्टिकोणलाई विश्लेषण गर्न यो प्रकारको सामूहिक भ्रमण हुन्छ,’ स्रोतले भन्यो । निर्वाचन सम्पन्न भए पनि नयाँँ सरकार गठन केही सातापछि मात्र हुनेछ । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष चासो रहेकै कारण स्वराज काठमाडौं ओर्लन लागेकी हुन् । मोदीले अन्य नेतालाई निर्वाचनपछि एक पटक फोन संवाद गरे पनि ओलीसँग दुई पटक संवाद गर्दै गत साताको संवादमा भ्रमणबारे जानकारी दिएको एमालेले नै जनाएको छ ।
सोमबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका चीन विज्ञ भनेर चिनिएका वरिष्ठ कूटनीतिज्ञ विदेश सचिव विजयकेशव गोखले, नेपाल मामिला हेर्ने र विदेश मन्त्रालयका प्रवक्तालगायत भ्रमणमा सहभागी हुनेछन् । विशेष विमानबाट बिहीबार साढे ३ बजे काठमाडौं उत्रने स्वराज शुक्रबार ४ बजे दिल्ली फर्कने अनौपचारिक कार्यतालिका रहेको भारतीय दूतावासका अधिकारीले बताए । काठमाडौं उत्रिएलगत्तै उनले बिहीबार एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, मधेस केन्द्रित दुई दलका नेताहरूसँग संयुक्त र छुट्टाछुट्टै भेटघाट गर्नेछिन् । उनको सम्मानमा एमालेले सोही दिन रात्रिभोज राखेको छ । शुक्रबार उनले पशुपतिनाथको दर्शन पनि गर्दैछिन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले शुक्रबार बेग्लाबेग्लै भेटवार्ता गर्नेछिन् ।
राजनीतिक भेटघाट हुने भएकाले स्वराजको भ्रमणलाई निकै महत्त्वका साथ हेरिएको छ । सामान्यतया यो स्तरको भ्रमण औपचारिक वा कुनै कार्यक्रममा सहभागी हुन आउने प्रचलन हुन्छ । तर अहिले उनी आफैं आउने भन्दै परराष्ट्र मन्त्रालयसँग समन्वयबिना हुन लागेको बताइएको छ । यो भ्रमणलाई मोदीको आगामी नेपाल भ्रमणसँग पनि जोडेर हेरिएको अधिकारीहरूले बताए । यो भ्रमणले ओलीलाई दिल्ली होइन मोदीलाई काठमाडौंको यात्रा तय गर्ने सम्भावना रहेको एक अधिकारीले बताए । ओलीले मोदीसँगको टेलिफोन वार्तामा नै जनकपुर र मुक्तिनाथको भ्रमणका लागि निम्ता दिइसकेका थिए ।
संविधान जारी नगर्न भारतले दिएको दबाबलाई तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र उनीपछिका ओलीले नसुनेपछि भारतले पाँच महिना नाकाबन्दी लगाएको थियो । त्यसअघि नेपाल भ्रमणमा मोदीले पाएको ‘वाहवाही’ र भूकम्पपछि भारतले देखाएको सदाशयलाई नाकाबन्दीले ओझेलमा पारेको थियो । नाकाबन्दीको विश्वभर कडा आलोचना मात्र भएन, तत्कालीन प्रधानमन्त्री ओलीले चीनसँग नयाँ सम्झौता गरे । उनै ओली प्रधानमन्त्री हुने भएपछि भारतले नेपालमा आफ्नो ‘पकड’ कायम राख्नका लागि यो भ्रमण गर्न लागेको धेरैको अडकल छ । ‘जुन स्वाभाविक हो,’ एक अधिकारीले भने, ‘वाम गठबन्धनकै नेता तर कांग्रेसको समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्री रहँदा नेपालले चीनसँग ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ मा सहभागी हुन हस्ताक्षरसमेत भयो, त्यसपछि सबै दलका नेतासँग भारत सशंकित भएको र खुद्रामा होइन थोकमा एजेन्डागत छलफलमा जुट्दै नेपालसँग सम्बन्ध सुमधुर राख्न खोजेको देखिन्छ ।’ कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij