२०८३ साउन ९ शनिबार

निगमको नयाँ जहाज आज आइपुग्दै

ई आर्थिक    बिहिबार, माघ १३ २०७३
4.5K
Shares
निगमको नयाँ जहाज आज आइपुग्दै

१३ माघ, काठमाडौँ । नेपाल वायु सेवा निगमले शनिबारसम्म नेपाल भित्र्याउने भनेको दुई वटा चिनिया जहाजमध्ये बिहीबार एउटा जहाज नेपाल अवतरण हुने भएको छ । अर्को जहाज भने शनिबार आउने पक्का भएको नेपाल वायु सेवा निगमले जनाएको छ ।

बिहीबार ‘एमए ६०’ र शनिबार ‘वाइ १२ ई’ जहाज आउन लागेको निगमका सहप्रवक्ता सैलेश कंसाकारले जानकारी दिनुभयो । दुवै जहाज चीन सरकारको ऋण सहुलियतमा ल्याइन लागेका हुन् । कंसाकारका अनुसार प्राविधिक तथा मौसममा कुनै खराबी नआए बिहीबार एम ए ६० विमान पाइलट गोपाल विष्ट र जेवी रानाले ल्याउने बताइएको छ भने शनिबार आउने विमान भने विदेशी पाइलटले ल्याउने बताइएको छ ।

“चिनियाँ पक्षसँग भएको लिखित सम्झौताबमोजिम दुईवटा जहाज आउन लागेको हो,” सहप्रवक्ता कंसाकारले भन्नुभयो, “यो पटक प्राविधिक रूपमा कमजोरी आएको खण्डमा नेपालमै आएर मर्मत गरिदिने, पार्टस्समेत यहीँ उपलब्ध गराउने तथा बिमा रकम घटाउने मन्त्रालयसँग सम्झौता भएको छ ।”

५६ सिट क्षमताको एम ए ६० ले विराटनगर, नेपालगन्ज, वीरगन्ज, धनगढी, भैरहवालगायत यात्रुको चाप धेरै रहेका तराईका जिल्लामा उडान भर्नेछ भने १७ सिटको वाइ १२ ई ले दुर्गम र यसअअघि ट्वीनअटर जहाजले सेवा दिँदै आएका पहाडी दुर्गम जिल्लामा उडान भर्नेछ ।

“दुईवटा विमान थपिएपछि विमान ग्राउन्डेड हुँदा खाली बस्नुपर्ने अवस्थाको अन्त्य हुन्छ भने यात्रुमा पनि नेपाल एयरलाइन्सप्रतिको विश्वास बढ्छ,” उहाले भन्नुभयो । अब नेपाल एयरलाइन्सप्रति रहेको यात्रुको गुनासो अन्त्य हुने र छिटो छरितो सेवा दिन सकिने विश्वाससमेत उहाले व्यक्त गर्नुभयो ।

अघिल्ला विमानको तुलनामा अब आउने विमानको भित्री सजावट निकै आकर्षक भएको निगमको दाबी छ । साथै निगमका अनुसार यसलगत्तै वाइ १२ ई कल साइनका दुईवटा थप जहाज आउनेछन् । तर, मिति भने तय भइसकेको छैन । चीन सरकारको अनुदानमा निगमले यसअघि नै दुईवटा एम ए ६० जहाज ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij