बागलुङ । डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख बिष्णुप्रसाद शर्माले सहकारी आर्थिक विकासको मेरुदण्ड भएकाले जिल्लामा रहेका विभिन्न सहकारीहरुले आयमुलक तथा सचेतनामुलक कार्यक्रममा गर्नुपर्ने बताउनुभएको छ ।
जिल्ला सहकारी संघ बागलुङको आठौँ बार्षिक साधारणसभाको उद्घाटन गर्दै शर्माले यस्तो बताउनुभएको हो । सम्पुर्ण सहकारीहरु एकबद्ध भएर अगाडी बढ्नका लागि जिल्ला सहकारी संघले महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्ने उहाको भनाई छ ।
साधारणसभाका अवसरमा संघका सचिव युक्तप्रसाद कँडेलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष भुपाल चालिसेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संघले गत आर्थिक बर्षको अन्त्य सम्म शेयर पुँजी ८ लाख ८ हजार, बचत १५ लाख १५ हजार १ सय ८० र कोष २ लाख २२ हजार ७ सय ९ सहित २८ लाख ७४ हजार ४ सय ३७ रुपैँयाको कारोबार गरेको सो अवसरमा जानकारी दिइएको थियो ।
कार्यक्रममा नेपाल नकेन्द्रिय सुचना तथा सञ्चार सहकारी संघका उपाध्यक्ष मनकुमारी केसी, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक चण्डीप्रसाद शर्मा, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष अञ्जु जिसी, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तेजेन्द्र खड्का, राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद शर्मा, सिवाईसी साकोसका उपाध्यक्ष गिता रेग्मी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारणसभामा नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारीस संघको उपाध्यक्षमा हालै निर्वाचित मनकुमारी केसी, सोही संघको लेखा सदस्यमा निर्वाचित खिमबहादुर कार्की र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालकमा निर्वाचित चण्डीप्रसाद शर्मालाई सम्मान गरिएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष अशोकगोविन्द राजभण्डारीको स्वागत र सचिव युक्तप्रसाद कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।