२०८३ साउन १९ मंगलबार

प्रधानमन्त्री शाहसँग रास्वपा सुदूरपश्चिमका सांसदहरूको भेट, सुदूरपश्चिमका विकास मुद्दामा ध्यानाकर्षण

ई आर्थिक    मंगलबार, साउन १९ २०८३
304
Shares
प्रधानमन्त्री शाहसँग रास्वपा सुदूरपश्चिमका सांसदहरूको भेट, सुदूरपश्चिमका विकास मुद्दामा ध्यानाकर्षण

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहसँग सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सांसदहरूले सुदूरपश्चिमका समसामयिक समस्या, विकास आयोजना र स्थानीय मागबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

भेटका क्रममा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै ती उपलब्धिबारे संसद्मार्फत जनतासमक्ष जानकारी गराउने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना तथा स्थानीय समस्याको समाधानका लागि प्रधानमन्त्रीसँग पहल गर्न आग्रहसमेत गरे।

सांसदहरूले सुदूरपश्चिमको राजनीतिक अवस्था, विकासको सम्भावना र चुनौतीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। छलफलका क्रममा गेटा विश्वविद्यालय सञ्चालन, कैलाली र कञ्चनपुरका तराई क्षेत्रमा देखिएको छाडा चौपाया व्यवस्थापन, धनगढी–खुटिया–दिपायल फास्ट ट्र्याक, विद्युतीकरण, सडक दुर्घटना न्यूनीकरण, तटबन्ध निर्माणलगायतका विषय उठाइएको थियो।

यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना, भन्सारसम्बन्धी समस्या, आरक्षपीडितका मुद्दा, हुलाकी सडक, किसानका लागि धान खरिद–बिक्री तथा दोधारा–चाँदनी क्षेत्रमा भइरहेको नदी कटानका विषयमा पनि सांसदहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

भेटमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाललगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij