काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रलाई पुनः गतिशील बनाउन सरकार र बैंकिङ क्षेत्रबीच नजिकको सहकार्य अपरिहार्य रहेको बताएका छन्।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँगको छलफलमा उनले बैंकिङ प्रणालीलाई अर्थतन्त्रको केन्द्रबिन्दुका रूपमा व्याख्या गर्दै बचत, लगानी, उत्पादन, रोजगारी र वित्तीय विश्वासको आधार बैंकहरू नै भएको उल्लेख गरे। निजी क्षेत्रसँगको निरन्तर संवादलाई सरकारले प्राथमिकता दिएको बताउँदै उनले बजेटमार्फत तय गरिएका आर्थिक रूपान्तरणका कार्यक्रम अब प्रभावकारी कार्यान्वयनमा केन्द्रित रहेको बताए।
अर्थमन्त्री वाग्लेले वर्तमान आर्थिक अवस्थाबारे बैंकिङ क्षेत्रसँग स्पष्ट र निष्कपट धारणा माग्दै व्यवसायीहरू लगानी विस्तार गर्न किन हिच्किचाइरहेका छन्, ऐतिहासिक रूपमा न्यून ब्याजदर हुँदा पनि कर्जाको माग किन बढ्न सकेको छैन, तथा बैंकिङ प्रणालीमा रहेको अधिक तरलता उत्पादनशील क्षेत्रमा किन परिचालन हुन नसकेको भन्ने विषयमा गम्भीर छलफल आवश्यक रहेको बताए।
उनले बैंकिङ प्रणालीबाट उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन आवश्यक संरचनागत सुधार, मौद्रिक नीति, नियमन तथा सुपरिवेक्षणमा अपनाउनुपर्ने नयाँ दृष्टिकोण, साथै अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई थप प्रभावकारी बनाउने उपायबारे सुझाव दिन सीईओहरूलाई आग्रह गरे।
सरकार कानुनी, नियामकीय तथा संस्थागत सुधारका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले आवश्यक परे कानुन संशोधन, प्रक्रियागत सुधार तथा नीतिगत निर्णय लिन सरकार पछि नहट्ने स्पष्ट पारे।
उनले सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियन्त्रित निकायको सीमित सम्बन्ध नभई साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध भएको उल्लेख गर्दै आर्थिक वृद्धि, लगानी विस्तार, रोजगारी सिर्जना र वित्तीय स्थायित्व सबैको साझा उद्देश्य भएको बताए।
अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रसँगको संवादलाई नियमित औपचारिक बैठकका रूपमा नभई नेपालको वित्तीय प्रणालीलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदार बनाउने कार्यशालाका रूपमा अघि बढाउनुपर्ने धारणा राखे।
उनले छलफललाई समस्या पहिचानमा मात्र सीमित नराखी समाधान, समयसीमा र जिम्मेवारीसहित कार्यान्वयनयोग्य निष्कर्ष निकाल्नुपर्नेमा जोड दिँदै विश्वास निर्माण, लगानी विस्तार, उत्पादन वृद्धि तथा उच्च आर्थिक वृद्धि र उच्च उत्पादकत्व हासिल गर्ने दिशामा सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने बताए।