दाङ । तुलसीपुर उपमहानगरपालिकाले लक्ष्यअनुसारको राजस्व असुली गर्न सकेको छैन।
आर्थिक वर्ष २०८२/८३ मा उपमहानगरले ७२ करोड १५ लाख रूपैयाँ राजस्व जम्मा गर्ने लक्ष्य राखेको थियो। तर जम्मा ४१ करोड ७६ लाख ९० हजार ७० रूपैयाँ राजस्व संकलन भएको छ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा उपमहानगरपालिकाको भवन जलेर क्षतिग्रस्त भएपछि लक्ष्यअनुसारको राजस्व जम्मा हुन कठिन भएको सूचना अधिकारी यज्ञबहादुर केसीले बताए।
उपमहानगरले सम्पत्ति करबाट १ करोड ९५ लाख ९९ हजार २११, भूमिसम्बन्धी करबाट २ करोड ४० लाख १० हजार ३६९, नदीजन्य पदार्थ ठेक्काबाट एक करोड ५२ लाख ९६ हजार १३२ र मालपोत करबाट १६ करोड ९१ लाख ९० हजार ६७४ रूपैयाँ राजस्व जम्मा गरिएको थियो।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा उपमहानगरपालिकाले ३६ करोड ७१ लाख राजस्व संकलन गरेको थियो।
उपमहानगरले सरसफाइ, पर्यटन, नक्सा पास, व्यवसाय, घर बहाल, सम्पत्ति करलगायत शीर्षकबाट राजस्व संकलन गर्दै आएको छ। रासस