२०८३ साउन १८ सोमबार

पूर्वाधार विकास र गुणस्तर इन्जिनियरको भूमिकामा निर्भर रहन्छ : ऊर्जामन्त्री श्रेष्ठ

ई आर्थिक    सोमबार, साउन १८ २०८३
589
Shares
पूर्वाधार विकास र गुणस्तर इन्जिनियरको भूमिकामा निर्भर रहन्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार विकास र सार्वजनिक सेवाको गुणस्तर दक्ष, इमानदार तथा उत्तरदायी इन्जिनियरको भूमिकामा निर्भर रहने बताएका छन्।

जल तथा ऊर्जा आयोगको सचिवालय जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रद्वारा आज आयोजित सेवामा नवप्रवेशी इन्जिनियरलाई सम्बोधन गर्दै उनले सरकारी सेवामा प्रवेश केवल जागिरको सुरुवात नभइ राष्ट्र निर्माणको अभियानमा समर्पित गर्ने ऐतिहासिक अवसर भएको बताए।

मन्त्री श्रेष्ठले भने, ‘प्रत्येक निर्णय, प्राविधिक सुझाव र हस्ताक्षर कार्यले लाखौँ नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले उच्च जिम्मेवारीबोधका साथ काम गर्नुपर्छ।’

राष्ट्रको विकास, सभ्यता र समृद्धिको इतिहास इन्जिनियरको सिर्जनशीलता, अनुसन्धान, अनुशासन र अथक परिश्रमसँग जोडिएको बताउँदै उनले सडक, पुल, विद्युत् आयोजना, प्रसारण लाइन, जलाशय, सिँचाइ प्रणाली, खानेपानी पूर्वाधार, औद्योगिक संरचना तथा आधुनिक सहरको निर्माण इन्जिनियरको दूरदृष्टि र क्षमतामा निर्भर रहने धारणा राखे।

मन्त्री श्रेष्ठले राष्ट्रसेवामा ज्ञानसँगै चरित्रको पनि उत्तिकै महत्त्व रहेकाले सरकारी सेवामा प्राविधिक दक्षताभन्दा पनि नैतिक साहस कहिलेकाहीँ अझ महत्वपूर्ण बन्ने बताए।

उनले देशले नयाँ पुस्ताका इन्जिनियरबाट केवल प्राविधिक दक्षता मात्र नभइ नवीन सोच, सकारात्मक ऊर्जा, नेतृत्व क्षमता र परिणाममुखी कार्यशैलीको अपेक्षा गरेको उल्लेख गरे। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij