जलेश्वर । महोत्तरीको गौशाला नगरपालिका–९, डुमरवानास्थित भित्री सडकमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मङ्गलबार बिहान करिब ७:३० बजे मोर्डन शारदा शिक्षा सदन बोर्डिङ स्कुलको बा १ क ६१२९ नम्बरको बस इमली बजारबाट गौशालातर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक छेउको उखुबारीमा पल्टिएको हो।
दुर्घटनामा बस चालक गौशाला नगरपालिका–५ का ४० वर्षीय विजय भुजेल सहित गौशाला नगरपालिका–११ का १० वर्षीय प्रतीक कुशवाहा, ८ वर्षीय प्रज्ज्वल कुशवाहा, १३ वर्षीया प्रिती कुशवाहा, गौशाला नगरपालिका–९ का १३ वर्षीय उमर शेख तथा गौशाला नगरपालिका–११ का ६ वर्षीय आदर्श कुशवाहा घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये अधिकांशको खुट्टा, नाक, कम्मरलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। चालक विजय भुजेल र उमर शेखलाई थप उपचारका लागि बीके अस्पताल, गौशाला पठाइएको छ भने अन्य चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी कान्तिबजारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले संयुक्त रूपमा घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।