काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नेतृत्व चयन गर्दा पार्टीमा कुनै विभाजन नआएको बताएका छन्।
बिहीबार निर्वाचन आयोग पुगेका शर्माले सञ्चारकर्मीसँग कुराकानी गर्दै विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेको र त्यसको जानकारी आयोगलाई औपचारिक रूपमा गराइएको जानकारी दिए।
उनले विशेष महाधिवेशन सफल भएको उल्लेख गर्दै महाधिवेशनले देश र पार्टीका लागि स्पष्ट दृष्टिकोण तय गरेको बताए। त्यसका साथै नेतृत्व परिवर्तनसमेत विधिसम्मत रूपमा सम्पन्न भएकाले कांग्रेस एकताबद्ध रहेको उनको भनाइ थियो।
“कांग्रेसले आफ्नै विधानअनुसार विशेष महाधिवेशन गरेर नेतृत्व चयन गरेको हो। यस प्रक्रियाले पार्टी फुट्दैन,” शर्माले भने।
उनका अनुसार विशेष महाधिवेशनबाट प्राप्त म्यान्डेट र निर्णयहरू निर्वाचन आयोगको अभिलेखमा अद्यावधिक गराउन टोलीसहित आयोग पुगेको हो।