ई-आर्थिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक किलो सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्रबाट करिब ८३५ ग्राम सुन जस्तो देखिने पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका हुन् ।
४८ वर्षीय रोनक मदनी, जो इण्डिगो एयरको उडानमार्फत मुम्बईबाट काठमाडौं आएका थिए, मंगलबार दिउँसो विमानस्थलको चेकजाँचका क्रममा शंकास्पद भेटिएपछि पक्राउ परेका हुन्।
विमानस्थलमा खटिएको सुरक्षाकर्मी टोलीले उनलाई शंका लागेपछि नियन्त्रणमा लिएको थियो। त्यसपश्चात केएमसी अस्पताल लगेर भिडियो एक्सरे गराउँदा मलद्वारमा लुकाइएका तीनवटा डल्ला भेटिएको प्रहरीको भनाइ छ। ती डल्लामा हाल करिब ८३५ ग्राम सुन जस्तो देखिने पदार्थ रहेको पाइएको हो।
पक्राउ परेका मदनीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ। प्रारम्भिक अनुसन्धानबाट उक्त पदार्थ सुन हो कि होइन भन्ने विषयमा परीक्षण प्रक्रिया अघि बढाइएको बताइएको छ।
प्रहरी र भन्सार प्रशासनले विदेशी नागरिकमार्फत गैरकानुनी सुन तस्करी हुने घटनामा सतर्कता बढाइएको जनाएको छ।