काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते शनिबार चीन जाने भएका छन् ।
प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा २०८२ भदौ १४ गते (२०२५ अगस्ट ३०) देखि २०८२ भदौ १८ गते (२०२५ सेप्टेम्बर ३) सम्म जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने भएका हुन् ।
प्रधानमन्त्री ओलीले शाङ्घाई सहयोग संगठन (SCO) शिखर सम्मेलन २०२५ तथा जापानी आक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोध युद्ध र विश्वव्यापी फासिवादविरोधी युद्धको ८०औं विजय वार्षिकोत्सवमा सहभागिता जनाउने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ मा आयोजना हुने SCO Plus Summit लाई सम्बोधन गर्नेछन्। शिखर सम्मेलनका अवसरमा अन्य विश्व नेताहरूसँग पनि भेटवार्ता हुने कार्यतालिका तय भएको छ।
यसै क्रममा, प्रधानमन्त्री ओलीले सेप्टेम्बर २ मा बेइजिङमा चिनियाँ उपराष्ट्रपति हान झेङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। सेप्टेम्बर ३ मा बेइजिङमै आयोजना हुने ८०औं विजय उत्सवमा पनि प्रधानमन्त्री ओलीको सहभागिता रहनेछ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसद छबिलाल विश्वकर्मा, साथै उच्च सरकारी अधिकारीहरू सहभागी रहने छन्।
प्रधानमन्त्री ओली र उनको टोली सेप्टेम्बर ३ तारिखमा (भदौ १८ गते) काठमाडौं फर्किने कार्यक्रम छ।