ई-आर्थिक, झापा । कोशी प्रदेशमा गाईभैंसीमा सर्ने लम्पी स्किन रोगको सङ्क्रमण तीव्र रूपमा फैलिँदै गएपछि प्रदेशभर खोप अभियानलाई तीव्र बनाइएको छ। गर्मी बढेसँगै रोग महामारीको रूपमा देखिएपछि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले १४ वटै जिल्लामा गोठमै पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरिरहेको जनाएको छ।
निर्देशनालयका सूचना अधिकारी तथा पशु चिकित्सक विनोदकुमार साहका अनुसार हालसम्म तीन लाख ३७ हजार ३०१ पशुमा खोप लगाइएको छ। तीमध्ये सबैभन्दा बढी झापामा ९९ हजार ६७४ पशुमा खोप दिइएको हो।
उनका अनुसार मोरङमा ६२ हजार १९९, सुनसरीमा ६४ हजार ४४१, इलाममा ४१ हजार २८६, उदयपुरमा १५ हजार ७३०, खोटाङमा ४ हजार २९१, भोजपुरमा ८ हजार ६१५, ताप्लेजुङमा ५ हजार ३५०, धनकुटामा १२ हजार १७५ र पाँचथरमा ९ हजार ७९४ पशुमा खोप दिइएको छ।
ओखलढुंगा र सोलुखुम्बुमा रोग देखिन नदिइनका लागि सावधानी स्वरूप ३ हजार ७ सय गाई, गोरु, राँगा र भैँसीलाई पनि खोप दिइएको जनाइएको छ।
हालसम्म कोशी प्रदेशमा २४ हजार ८६१ पशुमा लम्पी स्किन रोगको सङ्क्रमण पुष्टि भइसकेको छ भने ७६९ पशुको मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ।
सूचना अधिकारी साहका अनुसार, ‘यो रोग लामखुट्टे, झिँगा, भुसुना र किर्ना जस्ता कीराको टोकाइबाट सर्छ।’ उनले संक्रमित पशुलाई अलग राख्न, जुठो नखुवाउन र सरसफाइमा विशेष ध्यान दिन पशुपालकहरूलाई आग्रह गरेका छन्।
लम्पी स्किन रोग लागेपछि पशुमा उच्च ज्वरो आउने, शरीरमा गाँठागुठी देखिने र ती गाँठामा घाउ भई पिप तथा रगत बग्ने समस्या देखिन्छ। उपचार नपाएमा पशु मृत्यु हुने जोखिम अत्यधिक हुने भएकाले समयमै खोप लगाउन र सजग रहन विज्ञहरूको सुझाव छ।