एलिट क्यापिटलले कान्तिपुरको १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता साधारण शेयर प्रत्याभूति गरेको छ। मंगलबार कान्तिपुर कान्तिपुर फर्मास्युटिकल्सका प्रबन्ध सञ्चालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले सम्झौतामा हस्ताक्षर गरे। कम्पनीले शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल छ।
कूल ६३ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १७ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन प्रक्रिया सुरु गरेको छ। सन् २०१८ मा स्थापित यो कम्पनीले पशुपन्छीका लागि औषधि अनुसन्धान र आहार पूरक (सप्लिमेन्ट्स) उत्पादन तथा बिक्री गर्छ।
कम्पनीले औषधि व्यवस्था विभागबाट ६१ वटा औषधिको उत्पादन स्वीकृति पाएको छ। तीमध्ये १३ वटा औषधिको बिक्री वितरण प्रमाणपत्र प्राप्त गरी नेपाली बजारमा बिक्री भइरहेको छ। अन्य औषधिको प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा छ। साथै, कम्पनीले २१ वटा आहार पूरकको उत्पादन र बिक्री पनि गरिरहेको छ।