ई-आर्थिक, काठमाडौं । सामाजिक सञ्जालमा भ्रामक प्रचार गरेको आरोप पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अदालतले ५ दिनको हिरासतमा राख्न अनुमति दिएको छ। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईँ ५ दिन थुनामा राख्न अनुमति दिएको हो ।
साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईँलाई काठमाडौं जिल्ला अदालतले बुधबार ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध गलत समग्री बनाए दुष्प्रचार गरेको आरोपमा प्रसाईँलाई भक्तपुरस्थित निवासबाट प्रहरीले मंगलवार पक्राउ गरेको थियो । उनीविरुद्ध साइबर अपराधसम्बन्धी कसूरमा अनुसन्धान गर्न अदालतले ५ दिन म्याद थप गरेको हो।
प्रसाईँलाई सीआईबीले साइबर अपराध, कागजात कीर्ते र मानहानीको कसुरमा अनुसन्धान अघि बढाएर मुद्दा चलाउने तयारी गरेको हो ।
हिजो उनलाई सीआईबीको टोलीले भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो । उनलाई कानुनी दायरामा ल्याइएको सीआईबीले पुष्टि गरेको छ ।
सीआईबी प्रवक्ता एवम् एसपी होविन्द्र बोगटी ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको भेटिएपछि प्रसाईंलाई पक्राउ गरिएको बताएका थिए ।
उनले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका ठूला राजनीतिक दल विरुद्ध भ्रामक प्रचार–प्रसार गरिरहेको आरोप छ । त्यस्तै उनी गणतन्त्रको विरोध गर्दै राजतन्त्र फर्काउने अभियान पनि चलाउँदै आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा साढे ३२ अर्ब रूपैयाँभन्दा बढी लगानी रहेको भनेर उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।
मेडिकल व्यवसायी प्रसाई यसअघि पनि पक्राउ परेका थिए ।