ई–आर्थिक, काठमाडौं । बिपी राजमार्गमा पहिलेको जस्तै निर्बाध यात्रुवाहक सवारीसाधन सञ्चालनमा आएको छ । यो राजमार्गमा ‘रुट’ अनुमति लिएका यात्रुवाहक सवारीसाधन सञ्चालनमा आएकोे सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट क्षतिग्रस्त भएपछि उक्त राजमार्ग निर्वाधरुपमा सञ्चालनमा आएको हो ।
बाढीपहिरोले क्षतिग्रस्त भएको ठाउँमा ट्र्याक निर्माण गरी साना गाडीका लागि मात्र आवागमन खुलाइएकोमा मङ्गलबारदेखि ठुला यात्रुवाहक सवारीसाधनसमेत सञ्चालन गर्न दिएको डिभिजन कार्यालयले जानकारी दिएको छ ।
बाढीपहिरोका कारण सो राजमार्गको भकुन्डेबेँसी बर्सेखोला खण्डको करिब आठ किलोमिटरभन्दा बढी लम्बाइको सडक पूर्ण रूपमा बगाएकोले अहिले नयाँ ट्र्याक निर्माण गरी सवारीसाधनका लागि आवागमन खुलाइएको छ । ‘रुट’ अनुमति लिएका यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न सकिने डिभिजन सडक कार्यालयको भनाई छ ।
त्यसैगरी चौकीडाँडा र माम्ती खोलानजिकको डाइभर्सनमा सुधार गरिएको छ । बाढीपहिरो गएको ठाउँमा अहिले पनि सुक्खा पहिरोको सम्भावना रहेकाले रातको समयमा भने सवारीसाधन नचलाउन सम्बन्धित यातायात व्यवसायीलाई आग्रह गरिएको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ ।
बाढीपहिरोपछि यसअघि असोज २४ गते बिपी राजमार्ग सञ्चालनमा ल्याइएको थियो तर सञ्चालनमा आएको केही घण्टा नबित्दै सुक्खा पहिरो खसेर सो राजमार्ग पुनः अवरुद्ध भएको थियो । असोज ११ र १२ गतेको बाढीपहिरोले काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका रूपमा रहेको सोे राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पु¥याएको थियो ।